कर्णाली प्रदेशले तेस्रो जित निकाल्दा कोशीकाे लगातार सातौं हार

कर्णाली प्रदेशले तेस्रो जित निकाल्दा कोशीकाे लगातार सातौं हार

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले तेस्रो जीत निकाल्दा कोशी प्रदेशले भने लगातार सातौं हार व्यहोरेको छ ।

मूलपानी क्रिकेट मैदानमा मंगलबार भएको खेलमा कर्णालीले कोशी प्रदेशमाथि ६ विकेटको फराकिलो जित दर्ता गरेको हो । पहिला ब्याटिङ गरेको कोशी प्रदेशले ३४.३ ओभरमा सवै विकेट गुमाएर १५१ रन बनाएको थियो । जवाफमा कर्णाली प्रदेशले २८.३ ओभरमा ४ विकेट गुमाएर जित निकालेको थियो ।

पहिला ब्याटिङ गर्दा कोशीका लागि सुजन थपलियाले सर्वाधिक ७३ रन बनाउँदा ४ छक्का र ८ चौका प्रहार गरे । उनले ७३ बलको सामना गरेका थिए । सुजन घिमिरेले १२ तथा ऋषि भट्टराईले ११ रन जोडे । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाएनन् ।

कर्णाली प्रदेशका दिनेश अधिकारीले सर्वाधिक ४ विकेट लिँदा प्रकाश जैसीले ३ विकेट हात पारे । यसैगरी दिवान पुनले २ विकेट लिए ।

जवाफमा अर्जुन घर्तीले नटआउट ५० रनको अर्धशतकीय पारि खेले । उनले ४८ बल फेस गर्दा २ छक्का र ६ चौका प्रहार गरे । विपिन शाहीले २८ तथा निश्चल रावलले २१ रन बनाए । कप्तान रविन्द्र शाहीले १२ रन बनाउँदा अन्त्यमा अर्जुनसँग मिलेर हिमान्शु शाहीले २४ रनको नटआउट पारि खेल्दै कर्णालीलाई जिताए ।

कोशीका हेमन्त राईले ३ विकेट लिँदा कमल खत्रीले १ विकेट हात पारे ।

Logo