पाकिस्तानविरुद्ध नेपालको पाँचौं विकेट पतन, रावल अर्धशतकबाट चुके

पाकिस्तानविरुद्ध नेपालको पाँचौं विकेट पतन, रावल अर्धशतकबाट चुके

केन्द्रबिन्दु
0
Shares

आइसीसी यु–१९ विश्वकप क्रिकेटअन्तर्गत पाकिस्तानविरुद्ध नेपालको पाँचौं विकेट पतन भएको छ ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्क क्रिकेट मैदानमा पाकिस्तानविरुद्ध टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ओपनर विपीन रावललाई गुमाएको हो । उनी ३९ रनमा आउट भएका हुन् । ६८ बल खेलेका उनले ४ चौका र एक छक्का प्रहार गरे । न्यूजिल्यान्डविरुद्ध स्थान नपाएका उनले आज ओपनरका रुपमा साथ पाएका थिए । तर, २६ ओभरको चौथो बलमा उनी क्याच आउट हुन पुगे ।

यसअघि ओपनर अर्जुन कुमाल ६ रन बनाउँदै आउट भएका थिए । उनी चौथो ओभरको दोस्रो बलमा अहमद हुसैनबाट आउट हुन पुगेका हुन् । १२ बल खेलेका उनले मात्र ६ रन जोडे । यसअघि न्यूजिल्यान्डविरुद्ध ९० रनको सानदार इनिङ खेलेका उनी पनि आज भने सस्तैमा समेटिन पुगे । त्यस्तै, दोस्रो विकेटको रुपमा आकाश त्रिपाठी ६ रन बनाउँदै आउट भए । १० बल खेलेका उनी एक चौका प्रहार गर्दै ६ रनमै समेटिए । उनलाई पाकिस्तानका हुसैनले नै क्याच आउट गराए ।

साथै नेपालले कप्तान देव खनाललाई पनि सस्तैमा गुमायो । उनी २३ रन बनाएर आउट भए । १७औं ओभरको पहिलो बलमा उनी अली अस्फन्दको बलमा क्याच आउट हुन पुगे । ३७ बल खेलेका उनले ३ चौकाको मदतमा २३ रन मात्रै जोडे । उनले न्यूजिल्यान्डविरुद्ध पनि जमेर प्रदर्शन गर्न सकेका थिएनन् । नेपालले चौथो विकेटको रुपमा उत्तम रानामगरलाई ४ रनमै गुमायो । उनलाई २०औं ओभरको अन्तिम बलमा अरफत मिन्हासले क्याच आउट गराएका हुन् ।

Logo