नेपालको आज पनि चलेन ब्याटिङ, पाकिस्तानलाई १९८ रनको लक्ष्य

नेपालको आज पनि चलेन ब्याटिङ, पाकिस्तानलाई १९८ रनको लक्ष्य

केन्द्रबिन्दु
0
Shares

आइसीसी यु–१९ विश्वकप क्रिकेटअन्तर्गत आफ्नो दोस्रो खेलमा पाकिस्तानविरुद्ध नेपालले सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्क क्रिकेट मैदानमा पाकिस्तानविरुद्ध टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै १९७ रन बनाएको हो । नेपालका लागि ओपनर विपिन रावलले सर्वाधिक ३९ रन जोडे । ६८ बल खेलेका उनले ४ चौका र एक छक्का प्रहार गरे । न्यूजिल्यान्डविरुद्ध स्थान नपाएका उनले आज ओपनरका रुपमा साथ पाएका थिए । तर, २६ ओभरको चौथो बलमा उनी क्याच आउट हुन पुगे ।

अन्य खेलाडीको प्रदर्शन सम्झनलायक रहेन । सातौं नंबरमा ब्याटिङमा आएका दीपक डुम्रेले २६ रन र सुवास भण्डारीले २० रन जोड्दा आकाश चन्द १६ रनमा नटआउट रहे ।

यसअघि ओपनर अर्जुन कुमाल ६ रन बनाउँदै आउट भएका थिए । उनी चौथो ओभरको दोस्रो बलमा अहमद हुसैनबाट आउट हुन पुगेका हुन् । १२ बल खेलेका उनले मात्र ६ रन जोडे । यसअघि न्यूजिल्यान्डविरुद्ध ९० रनको सानदार इनिङ खेलेका उनी पनि आज भने सस्तैमा समेटिन पुगे । त्यस्तै, दोस्रो विकेटको रुपमा आकाश त्रिपाठी ६ रन बनाउँदै आउट भए । १० बल खेलेका उनी एक चौका प्रहार गर्दै ६ रनमै समेटिए । उनलाई पाकिस्तानका हुसैनले नै क्याच आउट गराए ।

साथै नेपालले कप्तान देव खनाललाई पनि सस्तैमा गुमायो । उनी २३ रन बनाएर आउट भए । १७औं ओभरको पहिलो बलमा उनी अली अस्फन्दको बलमा क्याच आउट हुन पुगे । ३७ बल खेलेका उनले ३ चौकाको मदतमा २३ रन मात्रै जोडे । उनले न्यूजिल्यान्डविरुद्ध पनि जमेर प्रदर्शन गर्न सकेका थिएनन् । नेपालले चौथो विकेटको रुपमा उत्तम रानामगरलाई ४ रनमै गुमायो । उनलाई २०औं ओभरको अन्तिम बलमा अरफत मिन्हासले क्याच आउट गराए ।

नेपालले अनुभवी अलराउण्डर गुलसन झालाई पनि सस्तैमा गुमायो । ४७ बल खेलका उनी १८ रनमा समेटिए । उनी ३७ ओभरको दोस्रो बलमा क्याच आउट भएका हुन् ।

समूह ‘डी’ मा रहेको नेपाल प्रतियोगितामा पहिलो जितको खोजीमा रहेको छ । नेपाल पहिलो खेलमा न्यूजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । त्यसैगरी, पाकिस्तान भने प्रतियोतिमा दोस्रो जित निकाल्ने दाउमा छ । पाकिस्तानले पहिलो खेलमा अफगानिस्तानमाथि एक सय ८१ रनको फराकिलो अन्तरले जित निकालेको थियो ।

समूह ‘डी’मा रहेको नेपालसँग न्यूजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान छन् । समूहको शीर्ष तीन स्थानमा रहने टोलीले सुपर–६ को यात्रा तय गर्नेछन् ।

Logo