बंगलादेशविरुद्ध नेपाल अलआउट

बंगलादेशविरुद्ध नेपाल अलआउट

केन्द्रबिन्दु
0
Shares

आईसीसी यू–१९ विश्वकप २०२४ अन्तर्गत ‘सुपर सिक्स’को पहिलो खेलमा नेपाल बंगलादेशविरुद्ध सस्तैमा समेटिएको छ ।

दक्षिण अफ्रिकाको माङ्गाउङ्ग ओभलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपाल ४९.५ ओभरमा अलआउट हुँदै १६९ रनमा समेटिएको हो । सुपर सिक्स खेल्नु अघि नै सेमिफाइनल दौडबाट बाहिरीसकेको नेपाल बिना दबाब बंगलादेशविरुद्ध खेल्ने आशा गरिए पनि सस्तैमा समेटिन पुग्यो । शिर्षक्रमकै ब्याट चलेन ।

नेपालका लागि विशाल विक्रम केसी महत्वपूर्ण अर्धशतक प्रहारबाट चुके । ४२औं ओभरको अन्तिम बलमा उनी ४८ रन हुँदा बोल्ड आउट भएका हुन् । उनी यसअघिको खेलमा थिएनन् । आज नै टोलीमा परेका थिए । तर, अर्धशतकको सपना पूरा हुन सकेन । त्यस्तै, नवौं नंबरमा ब्याट लिएर मैदान छिरेका सुवास भण्डारी १८ रनमा अविजित रहे ।

यसअघि नेपालका गुलसन झा, दीपक बोहरा र दीपेश कँडेल समान ३/३ रनमा आउट भएका थिए । नेपालले चौथो विकेटका रुपमा कप्तान देव खनाललाई गुमाएको थियो । २७ ओभरको चौथो बलमा उनी ३५ रन बनाउँदै क्याच आउट भए । जीसन आलमको बलमा उनी ठूलो सट खेल्ने धुनमा क्याच आउट भएका हुन् ।

त्यसअघि पहिलो १० ओभरको समाप्तिमा नेपालले ३ विकेट गुमाएको थियो । पहिलो विकेटको रुपमा ‌ओपनर विपिन रावल २ रनमा ३.५ ओभरमा आउट भएका थिए। त्यसपछि नेपालले ७.५ ओभरमा आकाश त्रिपाठीलाई गुमायो । तेस्रो विकेटको रुपमा अर्जुन कुमाल १४ रनमा आउट भए ।

Logo