आइसीसी टी–२० विश्वकपको टिकट बिक्री खुला, कसरी किन्ने ?

आइसीसी टी–२० विश्वकपको टिकट बिक्री खुला, कसरी किन्ने ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । अमेरिका र वेस्टइन्डिजमा हुन आइसीसी टी २० विश्वकप क्रिकेटको अनलाइन टिकट बिक्री खुला गरिएको छ ।

टिकट बिक्री ७ फेब्रुअरीसम्म जारी रहने आइसीसीले जनाएको छ । टी २० विश्वकप क्रिकेट जुन १ देखि २९ तारिखसम्म आयोजना हुने छ । विश्वकपमा नेपालसहित २० देशले प्रतिस्पर्धा गर्दै छन् । लिग चरणदेखि फाइनलसम्म ५५ वटा खेल हुनेछन् ।

आइसीसीले निकालेको खेल तालिका अनुसार नेपाल समूह डीमा रहेको छ । यो समूहमा नेपालसहित दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स छन् ।
यसैगरी, समूह एमा भारत, पाकिस्तान, अमेरिका, क्यानडा, आयरल्यान्ड रहँदा समूह बीमा इंग्ल्यान्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड, ओमान र समूह सीमा न्युजिल्यान्ड, वेस्ट इन्डिज, अफगानिस्तान, युगान्डा, पपुवा न्युगिनी छन् ।

हरेक समूहमा रहेका देशले ४–४ खेल खेल्ने छन् । ४ समूहका शीर्ष २–२ टिम गरी कुल ८ टिम सुपर–८ मा पुग्नेछन् । सुपर–८ मा पनि २ समूहमा प्रतिस्पर्धा हुनेछन् । सुपर–२ को २ समूहका शीर्ष २–२ टिम सेमिफाइनलमा पुग्नेछन् ।

कार्तिकमा घरेलु मैदानमा यूएईलाई हराउँदै नेपालले १० वर्षपछि टी–२० विश्वकपमा स्थान पक्का गरेको थियो । नेपालले पहिलो खेल जुन ४ मा नेदरल्यान्डस्, दोस्रो खेल श्रीलंकासँग जुन ११, तेस्रो खेल दक्षीण अफ्रिकासँग जुन १४ र चौथो खेल बंगलादेशसंग जुन १६ मा खेल्नेछ ।

आइसीसीले अनलाइन टिकट खरिद गर्दा एउटा आइडीबाट बढीमा ६ वटा मात्रै किन्न पाइने नियम पनि बनाएको छ । यसैगरी प्रत्येक खेलको टिकट मूल्य पनि फरक फरक रहेको छ । विश्वकपको सबैभन्दा सस्तो टिकट ६ डलरको र महँगो २५ डलरको रहेको छ ।

यसरी किन्न सकिन्छ टिकट?
टिकट किन्नका लागि टी २० विश्वकपको आधिकारिक वेबसाइटमा गएर रजिस्टर्ड हुनुपर्छ । प्रक्रिया सफल भएमा आवेदकले इ–मेलमार्फत टिकट सुरक्षित रहेको जानकारी प्राप्त गर्नेछन् । यस मार्फत खरिदकर्ताहरुले कुन खेलको टिकट सुरक्षित गरेका छन् भन्ने जानकारी दिइनेछ । त्यसपछि उनीहरूलाई एउटा लिंक उपलब्ध गराइनेछ जसमार्फत भुक्तानी गर्नुपर्नेछ । यदि तोकिएको समय भित्र भुक्तान नगरेमा टिकटहरू खुला बिक्रीको लागि पूलमा फिर्ता गरिने आइसीसीले जनाएको छ ।

Logo