आहा! रारा पोखरा गोल्डकपः इतिहास रच्ने दाउमा आर्मी र थ्रिस्टार

आहा! रारा पोखरा गोल्डकपः इतिहास रच्ने दाउमा आर्मी र थ्रिस्टार

केन्द्रबिन्दु
0
Shares

कास्की । मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगितामा स्थापित छ आहा रारा पोखरा गोल्डकप । निरन्तरताका दृष्टिकोणले दुई दशकभन्दा बढी समयदेखि सञ्चालनमा छ ।

विसं २०५८ देखि सुरु प्रतियोगिता प्रतिकूल समयमा रोकिएन । नेपाली फुटबल इतिहासमा निरन्तर सञ्चालन भएकामा आहा रारा गोल्डकप पर्दछ ।

प्रतियोगिताको २३औँ संस्करणको फाइनल खेल भोली हुँदैछ । उपाधिका लागि विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र थ्रिस्टार क्लब पोखरा रङ्गशालामा आमनेसामने हुँदैछन् ।

त्रिभुवन आर्मी क्लबले हालसम्म चार पटक प्रतियोगिताको फाइनल पुगेर पनि उपाधि विमुख छ । प्रतियोगितामा पाँचौँ पटक उपाधि नजिक पुगको आर्मी शनिबार पोखराको मैदानमा ओर्लिदा उसको मुख्य लक्ष्य च्याम्पियन बनेर इतिहास रच्ने हुनेछ ।

थ्रिस्टार क्बल भने पोखराको मैदानमा भाग्यमानी टोलीमा पर्दछ । मनाङ मस्र्याङदी क्लबपछि आहा राराको सर्वाधिक धेरै उपाधि जित्ने टोली हो थ्रिस्टार । थ्रिस्टारले हालसम्म पाँच पटक उपाधि जितिसकेको छ भने शनिबार भोली छैटौँ उपाधिको खोजीमा हुनेछ र इतिहास रच्नेछ ।

थ्रिस्टार यसअर्थमा पनि भाग्यमानी छ भने उसले फाइनलमा पुगेर एक पटक मात्र उपाधि जित्न सकेको छैन । अन्य सबैमा सफलता पाएको छ । आर्मी यसअघि विसं २०६५, विसं २०६६, विसं २०७२ र विसं २०७५ मा प्रतियोगिताको फाइनल पुगेको थियो । चारैपटक उसले उपाधि जित्न सकेन । पछिल्लो पटक आर्मी र थ्रिस्टार विसं २०७५ मा फाइनलमा भिडेका थिए ।

तत्कालीन समयमा टाइब्रेकरमा थ्रिस्टार च्याम्पियन बनेको थियो । उपाधि भिडन्तमा पाँच वर्षपछि थ्रिस्टारसँग बदला लिने मौका आर्मीलाई छ । थ्रिस्टारले विसं २०६३, विसं २०६७, विसं २०६९, विसं २०७१ र विसं २०७५ मा प्रतियोगिताको उपाधि चुमेको छ ।

प्रतियोगितामा हालसम्म सात पटक फाइनल पुगेको थ्रिस्टार विसं २०७४ को १६औँ संस्करणमा नेपाल पुलिस क्लबसँग पराजित भएको थियो । पोखरामा आफ्नो गौरवपूर्ण विरासतलाई निरन्तरता दिन चाहन्छ थ्रिस्टार । प्रतियोगितामा छैटौँ पटक उपाधि जित्दै सर्वाधिक सफल क्लबको पहिचान स्थापित गर्ने खोजीमा थ्रिस्टार हुनेछ ।

Logo