आर्मीलाई हराउँदै पुलिस बन्यो प्रधानमन्त्री कप च्याम्पियन

आर्मीलाई हराउँदै पुलिस बन्यो प्रधानमन्त्री कप च्याम्पियन

केन्द्रबिन्दु
0
Shares

काठमाडाैं । विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको उपाधि जितेको छ । टीयु क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले हराउँदै उपाधि चुमेको हो ।

प्रतियोगितामा अपराजित रहँदै शीर्ष स्थानमा रहेर फाइनल खेलेको पुलिस च्याम्पियन बनेकाे हाे ।

आर्मीले जितका लागि दिएको १८२ रनको लक्ष्य पुलिसले ३७.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको हो । पुलिसका लागि शंखर रानाले अर्धशतकीय इनिङको योगदान दिए । ४३ बल खेलेका उनले ५ चौका र ४ छक्काको मदतमा सर्वाधिक ६२ रन जोडे । आक्रमक व्याटिङमा उत्रिएका उनी अविजित रहे । त्यस्तै, अर्जुन साउदले ३६ रन, अम्रित श्रेष्ठले २८ रन तथा आरिफ शेखले २७ रन जोडे ।

बलिङमा आर्मीका जितेन्द्र मुखिया, कुशल मल्ल, साअव आलम र बसिर अहमदले समान एकएक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले ४९.५ ओभरमा अलआउट हुँदै १८१ रन बनाएको थियाे । सुरुआतमै दबाबमा परेको आर्मीका लागि विवेक यादवले महत्वपूर्ण अर्धशतकीय इनिङ खेले । नवौं नंबरमा ब्याट लिएर मैदान छिरेका यादवले ८१ बल खेल्दै ७ चौका र १ छक्काको मदतमा सर्वाधिक ६३ रन जोडे ।

शिर्षक्रमका ब्याटर चल्न नसक्दा सोमपाल कामीले ३९ रन जोडे । उनले र विवेकले राम्रो साझेदारी गरेका थिए । त्यसअघि ओपनर इमरान शेखले २८ रन जोडे । कप्तान विनोद भण्डारी २ रनमा आउट हुँदा सन्तोष कार्कीले ६ रन तथा भीम सार्की ५ रनमै समेटिए । लामो सट खेल्न सक्ने कुशल मल्ल पनि १७ रनमा आउट भए ।

बलिङमा पुलिस क्लबका कप्तान दीपेन्द्रसिंह ऐरी र ललितनारायण राजवंशीले समान ३/३ विकेट लिए । त्यस्तै, सागर ढकाल, करण केसी र कुशल भुर्तेलको नाममा एकएक विकेट रह्यो ।

Logo