अरु क्षेत्रको बजेट कम गरेर भएपनि क्रिकेटका लागि बजेट थप्छाैंः अर्थमन्त्री महत

अरु क्षेत्रको बजेट कम गरेर भएपनि क्रिकेटका लागि बजेट थप्छाैंः अर्थमन्त्री महत

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले क्रिकेटलाई प्रोत्साहन गर्नका लागि सरकारले बजेट थप गर्ने बताएका छन् ।

प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगिताको शनिबार त्रिवि मैदान कीर्तिपुरमा भएको फाइनल खेलको समारोहमा अर्थमन्त्री महतले अरु क्षेत्रको बजेट कम गरेर भए पनि खेलकुद क्षेत्रमा बजेट थप गर्ने र त्यसमा क्रिकेटलाई उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका हुन् ।

उनले भने, ‘नेपाल सरकारले आउने दिनमा यसमा थप बजेट विनियोजित गर्छ, समग्र रुपमा क्रिकेटलाई अन्तराष्ट्रिय रुपमा नेपाललाई पहिचान गराउने महत्वपूर्ण विधा भएको हुनाले यसमा पनि खर्च बढाउछौं । अरु क्षेत्रको बजेट कम गरेर भए पनि हामी खेलकुद क्षेत्रमा आउँदो बजेटमा उल्लेख्य बजेट थप्छौं । र, त्यसमा पनि सबैभन्दा बढी बजेट क्रिकेटलाई प्रोत्साहन गर्न हामी खर्च गर्छौ । यो विश्वास म अर्थमन्त्रीको नाताले दिलाउन चाहन्छु ।’

यस्तै, अर्थमन्त्री महतले अन्तराष्ट्रिय स्तरको खेलको अभ्यासको लागि पनि रकम खर्च गर्ने भन्दै स्रोत र साधनले पुगेसम्म क्रिकेटलाई माथि लानको लागि सरकारको पूर्ण सहयोग रहने बताए । उनले भने, ‘अन्तर्राष्ट्रिय स्तरको खेल खेल्नको लागि अभ्यासस्वरुप विभिन्न स्थानमा खेलहरु पनि हुने गरेको छ । त्यसको लागि रकम पनि नेपाल सरकारले सुनिश्चित गर्छ, त्यसको विश्वास पनि दिलाउन चाहन्छु । हामीले आफ्नो स्रोत र साधनले पुगेसम्म क्रिकेटलाई माथि लानको लागि नेपाल सरकार र अर्थमन्त्रालयको पूर्ण सहयोग हुने छ ।’

क्रिकेट न्यून साधन स्रोत भए पनि छोटो समयमा नै परिचित हुन सफल भएको अर्थमन्त्री महतले बताए । ‘हामी सबैले यसलाई गौरव गर्छौ । यसको सम्भावना पनि छ, त्यसको लागि सरकारले थप प्रोत्साहन गर्न, राष्ट्रिय गौरवको मान्यता दिएर क्रिकेट स्टेडियमहरु पनि निमार्ण गर्ने निर्णय गरेको छ,’ उनले भने, ‘यसैगरि अन्तराष्ट्रिय स्तरमा सहभागी, सफल खेलाडीहरुलाई पनि पुरस्कृत गर्दै जाने छौं ।’

Logo