कुशलको अर्धशतकमा क्यानडालाई २२५ रनको लक्ष्य प्रस्तुत, चलेन मध्यक्रमको ब्याटिङ

कुशलको अर्धशतकमा क्यानडालाई २२५ रनको लक्ष्य प्रस्तुत, चलेन मध्यक्रमको ब्याटिङ

केन्द्रबिन्दु
0
Shares

काठमाडाैं । घरेलु टोली नेपालले क्यानडाविरुद्धको तीन एकदिवसीय सिरिजअन्तर्गत पहिलो खेलमा मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २२४ रन बनाएको हो । नेपालका लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले अर्धशतकीय इनिङ खेले । उनी सर्वाधिक ६२ रन बनाउँदै आउट भएका थिए । उनले ५८ बलको सामना गरी एक छक्का र नौ चौका हिर्काएका थिए । उनको यो सातौं अन्तर्राष्ट्रिय एकदिवसीय अर्धशतक हो ।

आरिफ शेखले ३८ रन जोड्दा आठौं नंबरमा मैदान छिरेका सोमपाल कामीले २छक्काको मदतमा २७ रन बनाए । नेपालका मध्यक्रमका ब्याटरको प्रदर्शन भने सम्झन लायक रहेन । भुर्तेलले अर्धशतक प्रहार गर्दा अरु ब्याटर चल्न सकेनन्।

नेपालले पहिलो विकेटका रुपमा ओपनर आशिफ शेखलाई गुमाएको थियो । उनी २४ बलमा आठ रन बनाउँदै आउट भएका थिए । ९।१ ओभरमा आशिफ आउट हुँदा नेपालले ४८ रन बनाएको थियो । दोस्रो विकेटका रुपमा कप्तान रोहित पौडेललाई गुमायो । उनी १७ बलमा एक चौकाको मद्दतले आठ रन बनाउँदै आउट भएका थिए । रोहितको विकेट इश्वरजोत सोहीले लिएका थिए । उनले नेपाली टोलीका कप्तानलाई हर्ष थाकेरद्वारा क्याच गराएका थिए ।

तेस्रोमा भुर्तेल आउट हुँदा चौथो विकेटका रुपमा भीम सार्की आउट भए । उनी १७ रन बनाउँदै पेभेलियन फर्किएका हुन् । उनले २६ बलमा दुई चौका पनि हिर्काएका थिए । कुशल मल्ल पनि २० रनमा आउट भए। पवन सर्राफ पनि १५ रनमा पेवेलियन फर्किए । आज मात्रै डेब्यू गरेका सूर्य तामाङ १० रनमा अविजित रहे ।

बलिङमा क्यानडाका लागि उदय भगवानले सर्वाधिक ३ विकेट लिए । त्यस्तै, कप्तान साद बिन जफरले २ विकेट तथा शाहिद अहमदजै, हर्ष ठाकेर र इश्वरजोत सोहीले समान १/१ विकेट लिए ।

सन् २०१८ मा पहिलो पटक एकदिवसीय मान्यता पाएपछि नेपालले क्यानडासँग पहिलो पटक एकदिवसीय औपचारिक खेल खेल्न लागेको हो । आजको खेलमा नेपालको टोलीमा सूर्य तामाङ र रिजन ढकालले डेब्यू गरेका छन् । सूर्य स्पिनर र रिजन बायाँ हाते तीव्र गतिका बलर हुन् । दुवै टोलीले सिरिजमा विजयी सुरुआत गर्ने उद्देश्यका साथ मैदान उत्रिएका छन् ।

Logo