डेब्यू खेलमै रिजन ढकालले लिए क्यानडाविरुद्धको पहिलो विकेट

डेब्यू खेलमै रिजन ढकालले लिए क्यानडाविरुद्धको पहिलो विकेट

केन्द्रबिन्दु
42
Shares

घरेलु टोली नेपालले तीन एकदिवसीय सिरिजअन्तर्गत क्यानडाविरुद्धको पहिलो खेलमा पहिलो सफलता प्राप्त गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले जितका लागि दिएको २२५ रनको विजयी लक्ष्य पछ्याएको क्यानडाको पहिलो विकेट पतन भएको हो । दोस्रो ओभरको पाँचौं बलमा रिजन ढकालले ओपनर नाभनित धलिवाललाई क्याच आउट गराएका हुन् । उनी ६ रनमा आउट भए । रिजनले राष्ट्रिय टोलीमा आज नै डेब्यू गरेका हुन् ।

यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २२४ रन बनाएको थियाे । नेपालका लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले अर्धशतकीय इनिङ खेले । उनी सर्वाधिक ६२ रन बनाउँदै आउट भएका थिए । उनले ५८ बलको सामना गरी एक छक्का र नौ चौका हिर्काएका थिए । उनको यो सातौं अन्तर्राष्ट्रिय एकदिवसीय अर्धशतक हो ।

आरिफ शेखले ३८ रन जोड्दा आठौं नंबरमा मैदान छिरेका सोमपाल कामीले २छक्काको मदतमा २७ रन बनाए । नेपालका मध्यक्रमका ब्याटरको प्रदर्शन भने सम्झन लायक रहेन । भुर्तेलले अर्धशतक प्रहार गर्दा अरु ब्याटर चल्न सकेनन्।

नेपालले पहिलो विकेटका रुपमा ओपनर आशिफ शेखलाई गुमाएको थियो । उनी २४ बलमा आठ रन बनाउँदै आउट भएका थिए । ९.१ ओभरमा आशिफ आउट हुँदा नेपालले ४८ रन बनाएको थियो । दोस्रो विकेटका रुपमा कप्तान रोहित पौडेललाई गुमायो । उनी १७ बलमा एक चौकाको मद्दतले आठ रन बनाउँदै आउट भएका थिए । रोहितको विकेट इश्वरजोत सोहीले लिएका थिए । उनले नेपाली टोलीका कप्तानलाई हर्ष थाकेरद्वारा क्याच गराएका थिए ।

तेस्रोमा भुर्तेल आउट हुँदा चौथो विकेटका रुपमा भीम सार्की आउट भए । उनी १७ रन बनाउँदै पेभेलियन फर्किएका हुन् । उनले २६ बलमा दुई चौका पनि हिर्काएका थिए । कुशल मल्ल पनि २० रनमा आउट भए। पवन सर्राफ पनि १५ रनमा पेवेलियन फर्किए । आज मात्रै डेब्यू गरेका सूर्य तामाङ १० रनमा अविजित रहे ।

बलिङमा क्यानडाका लागि उदय भगवानले सर्वाधिक ३ विकेट लिए । त्यस्तै, कप्तान साद बिन जफरले २ विकेट तथा शाहिद अहमदजै, हर्ष ठाकेर र इश्वरजोत सोहीले समान १/१ विकेट लिए ।

सन् २०१८ मा पहिलो पटक एकदिवसीय मान्यता पाएपछि नेपालले क्यानडासँग पहिलो पटक एकदिवसीय औपचारिक खेल खेल्न लागेको हो । दुवै टोलीले सिरिजमा विजयी सुरुआत गर्ने उद्देश्यका साथ मैदान उत्रिएका छन् ।

Logo