टीयु क्रिकेट मैदानमा सन्दीपको खोजी

टीयु क्रिकेट मैदानमा सन्दीपको खोजी

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । क्यानडाविरुद्धको तीन खेलको एक दिवसीय क्रिकेट खेल भइरहँदा कीर्तिपुरको टीयु क्रिकेट मैदानमा दर्शकले काठमाडौं जिल्ला अदालतबाट बलात्कार जस्तो गम्भीर घटनामा दोषी ठहर भइसकेका क्रिकेटर सन्दीप लामिछानेको खोजी गरेका छन् ।

क्यानडाविरुद्ध टस जितेर ब्याटिङमा उत्रिएको नेपालले लगातार विकेट गुमाउँदा दर्शक दिर्घाबाट सन्दीपको पक्षमा नाराबाजी भएको हो । क्यानडाविरुद्ध नेपालले संघर्ष गरिरहेका बेला आईसीसीद्धारा मान्यता प्राप्त खेलमा गम्भीर मुद्दाका दोषीको पक्षमा हुटिङ हुनुले नेपाली क्रिकेटले विभिन्न झमेलाको सामना गर्नुपर्ने स्थिति आउनसक्ने आंकलन गरिएको छ ।

लगातार विकेट गुमाएको नेपालले ३८ ओेभर ५ बलमा छैटौं विकेट गुमाएपछि दर्शकदिर्घामा रहेका क्रिकेट समर्थकहरुले ‘सन्दीपलाई न्याय दे’, ‘सन्दीप चाहियो’लगायतका नारा लगाएका थिए र ब्यानर बोकेका थिए ।सन्दीपको पक्षमा नाराबाजी भएपछि नेपाल र क्यानडाका खेलाडीको समेत ध्यान भंग मात्र भएन, उनीहरुले खेल्न छाडेर बाहिर हेरिरहेका देखिन्थे ।

सन्दीपको पक्षमा नारावाजी गर्दै प्रदर्शन गरेपछि प्रहरीले केहीलाई नियन्त्रणमा समेत लिएको छ ।

ठूलो संख्यामा क्रिकेट समर्थकले प्रदर्शन गरेपछि नियन्त्रणमा लिन प्रहरीले सामान्य बल प्रयोग गरेको थियो । अदालतले बलात्कार आरोपमा दोषी ठहर गरेका खेलाडीको पक्षमा प्रदर्शन गरेका सात जनालाई नियन्त्रणमा लिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ । अन्य केहीले बोकेका ब्यानर समेत प्रहरीले खोसेको छ । यसरी गम्भीर आरोपमा दोषी ठहर भई सजाय समेत निर्धारण भइसकेका खेलाडीको पक्षमा प्रदर्शन हुनुले नेपाली क्रिकेटको भावी बाटोको सवालमा प्रश्नहरु उठेका छन् ।

आईसीसीले दिने अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनाको अवसरसमेत नेपाल क्रिकेट संघले नपाउन सक्ने, यस्तै अन्य क्रिकेटिङ राष्ट्रहरू सुरक्षा अवस्था देखाउँदै नेपालमा क्रिकेट खेल्न आउन नचाहने लगायतका चर्चाहरु सामाजिक सञ्जालमा हुन थालेका छन् ।

अदालतले बलात्कारी ठहर गरिसकेको र दोषी ठहरिएका खेलाडी आफैँले पनि निर्दोष नठहरिएसम्म मैदान फर्कन्न भनिसकेको अवस्थामा क्रिकेट समर्थकको यस्तो प्रदर्शन किन भन्ने प्रश्न समेत उठ्न थालेको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपलाई गत पुष १३ गते बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो । न्यायाधीश ढकालको इजलासमै हुने सुनुवाइले लामिछानेमाथि सात वर्ष कैद सजाय समेत निर्धारण गरिसकेको छ ।

आजको खेलमा सन्दीपको स्थानमा सूर्य तामाङले खेलेका छन् । तामाङ राम्रो स्पिन फ्याँक्न सक्ने भएपनि ब्याटिङ कमजोर छ । मैदानमा बलिङका साथै ब्याटिङमा जादू चलाउन सक्ने सन्दीपको अभाव खड्किएको महसुस गर्न सकिन्थ्यो ।

Logo