क्यानडामाथि नेपालको रोमाञ्चक जित

क्यानडामाथि नेपालको रोमाञ्चक जित

केन्द्रबिन्दु
196
Shares

घरेलु टोली नेपालले क्यानडाविरुद्धको तीन एकदिवसीय सिरिजमा विजयी सुवात गरेको छ । बिहीवार भएको पहिलो खेलमा क्यानडामाथि नेपालले ७ रनको रोमाञ्चक जित दर्ता गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा जितका लागि दिएको २२५ रनको विजयी लक्ष्य पछ्याएको क्यानडा ४७ ओभरको पाँचौं बलमा अलआउट हुँदै २१७ रनमा समेटिएको हो । जितको मुखमा पुगेको क्यानडा फिनिसिङमा चुक्दा हार व्यहोर्न पुग्यो ।
क्यानडाका लागि निकोसल किर्तोन र पर्गत सिंहले अर्धशतकको योगदान दिए तर, काम लागेन । किर्तोनले सर्वाधिक ६८ रन जोडे । उनको विकेट नै नेपालको जितका लागि टर्निङ प्वाइन्ट बनेको थियो । त्यस्तै, सिंहले ५० रन जोडे । उनीहरुको साझेदारी नेपालको लागि निकै भारी बनेको थियो । तर, नेपालका कप्तान रोहितकुमार पौडेलले तोडे । १९औं ओभरको चौथो बलमा उनले अर्धशतक बनाइसकेका क्यानडाका पर्गत सिंहलाई क्याच आउट गराएका हुन् ।

त्यसपछि हर्ष ठाकर र किर्तोनको साझेदारी बढ्न थाल्यो । जहाँ पवन सर्राफले किर्तोनलाई बोल्ड आउट गरे । हर्ष ३२ रन बनाएर आउट भए । त्यसपछि भने कुनैले दोहोरो रन छुन सकेनन् । यसअघि पाँचौं ओभरको अन्तिम बलमा नेपालका तीव्र गतिका बलर सोमपाल कामीले ओपनर जोन्सनलाई आउट गराएका थिए । उनी २० रन बनाउँदै आउट भए । दोस्रो ओभरको पाँचौं बलमा रिजन ढकालले ओपनर नाभनित धलिवाललाई क्याच आउट गराएका हुन् । उनी ६ रनमा आउट भए । रिजनले राष्ट्रिय टोलीमा आज नै डेब्यू गरेका हुन् ।

बलिङमा नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ४ विकेट लिए । उनको ब्याटिङ चलेन तर, बलिङमा जादू चलाए । त्यस्तै, ललित राजवंशीले २ विकेट लिँदा सोमपाल कामी, पवन सर्राफ, रिजन ढकाल र कुशल मल्लको नाममा एकएक विकेट रह्यो ।

टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २२४ रन बनाएको थियाे । नेपालका लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले अर्धशतकीय इनिङ खेले । उनी सर्वाधिक ६२ रन बनाउँदै आउट भएका थिए । उनले ५८ बलको सामना गरी एक छक्का र नौ चौका हिर्काएका थिए । उनको यो सातौं अन्तर्राष्ट्रिय एकदिवसीय अर्धशतक हो ।

आरिफ शेखले ३८ रन जोड्दा आठौं नंबरमा मैदान छिरेका सोमपाल कामीले २छक्काको मदतमा २७ रन बनाए । नेपालका मध्यक्रमका ब्याटरको प्रदर्शन भने सम्झन लायक रहेन । भुर्तेलले अर्धशतक प्रहार गर्दा अरु ब्याटर चल्न सकेनन्।

नेपालले पहिलो विकेटका रुपमा ओपनर आशिफ शेखलाई गुमाएको थियो । उनी २४ बलमा आठ रन बनाउँदै आउट भएका थिए । ९.१ ओभरमा आशिफ आउट हुँदा नेपालले ४८ रन बनाएको थियो । दोस्रो विकेटका रुपमा कप्तान रोहित पौडेललाई गुमायो । उनी १७ बलमा एक चौकाको मद्दतले आठ रन बनाउँदै आउट भएका थिए । रोहितको विकेट इश्वरजोत सोहीले लिएका थिए । उनले नेपाली टोलीका कप्तानलाई हर्ष थाकेरद्वारा क्याच गराएका थिए ।

तेस्रोमा भुर्तेल आउट हुँदा चौथो विकेटका रुपमा भीम सार्की आउट भए । उनी १७ रन बनाउँदै पेभेलियन फर्किएका हुन् । उनले २६ बलमा दुई चौका पनि हिर्काएका थिए । कुशल मल्ल पनि २० रनमा आउट भए। पवन सर्राफ पनि १५ रनमा पेवेलियन फर्किए । आज मात्रै डेब्यू गरेका सूर्य तामाङ १० रनमा अविजित रहे ।

बलिङमा क्यानडाका लागि उदय भगवानले सर्वाधिक ३ विकेट लिए । त्यस्तै, कप्तान साद बिन जफरले २ विकेट तथा शाहिद अहमदजै, हर्ष ठाकेर र इश्वरजोत सोहीले समान १/१ विकेट लिए ।

सन् २०१८ मा पहिलो पटक एकदिवसीय मान्यता पाएपछि नेपालले क्यानडासँग पहिलो पटक एकदिवसीय औपचारिक खेलेकाे हाे ।

Logo