काठमाडौँ। मलेसियामा आजदेखि सुरु भएको एसीसी महिला प्रिमियर कपमा नेपालले विजयी सुरुवात गरेको छ। समूह चरणको पहिलो खेलमा हङकङ माथि ८ विकेटको जित निकाल्दै नेपालले जित सहित सुरुवात गर्न सफल भएको हो।
हङकङले दिएको ९४ रनको लक्ष्य नेपालले १४.१ ओभरमा २ विकेट गुमाएर पुर्यायो। नेपालका लागि कप्तान इन्दु बर्माले ३३ बल खेल्दै ३ चौका र १ छक्का सहित सर्वाधिक ४० रन बनाइन्। यस्तै सिता राना मगर ३८ बल खेल्दै १ चौका र १ छक्कासहित ३६ रनमा अविजित रहिन्।
दोस्रो विकेटका लागि इन्दु र सिता मिलेर ७६ रनको साझेदारी गरेका थिए। यो नेपालका लागि महिला अन्तराष्ट्रिय टि-२० मा तेस्रो सर्वाधिक साझेदारी हो। नेपालको सर्वाधिक चार साझेदारीमा नै यी दुईको नाम रहेको छ।
अर्कोतर्फ़ रुबिना छेत्री शुन्यमा नटआउट रहिन्। ओपनर कविता कुँवर १२ बल खेल्दै ४ रन बनाएर आउट भएको थिइन्। हङकङका लागि इक्रा सहर र चान का यिंग क्यारीले समान एक-एक विकेट लिए।
त्यसअघि टस हारेर मलेसियाको सेलाङ्गोर टर्फ क्लबमा पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ९३ बनाएको हो। हङकङका लागि कप्तान चान का यिंग क्यारीले ३१ बल खेल्दै ३ चौका सहित सर्वाधिक २१ रन बनाइन्। यस्तै मर्यम बिबीले १९ बल खेल्दै सर्वाधिक १८ रन बनाइन्। यस्तै यास्मिन दस्वानीले २१ बल खेल्दै १५ रन बनाएर हिट विकेट हुन पुगिन्।
ओपनर नताशा माइल्सले १९ बलमा ११ रनको योगदान गरिन्। हङकङका अन्य ब्याटरले दोहोरो अंक पनि छुन सकेनन्। नेपालका लागि रुबिना क्षत्रीले र पुजा महतोले सर्वाधिक २-२ विकेट लिए। रुबिनाले ४ ओभरमा १५ रन खर्चिंदै २ विकेट लिइन् भने पूजाले ४ ओभरमा १९ रन खर्चिन्। यस्तै सिता राना मगरले ४ ओभरमा २२ रन दिँदै १ विकेट लिइन्।
एसीसी महिला प्रिमियर कपमा १६ टोलीको सहभागिता रहेको छ। १६ टोलीलाई ४ समुहमा विभाजन गरिएको छ भने फाइनल पुग्ने दुई टोलीले एसीसी महिला एसिया कप खेल्ने छन्। यस्तै सेमिफाइनल पुग्ने चार टोली इमर्जिङ एसिया कप खेल्ने छन्। नेपाल रहेको समूह डी मा हङकङ बाहेक माल्दिभ्स र भुटान रहेका छन्।
प्रतिक्रिया