क्यानडाविरुद्ध नेपाललाई पहिलो झट्का, कुशल भुर्तेल आउट

क्यानडाविरुद्ध नेपाललाई पहिलो झट्का, कुशल भुर्तेल आउट

केन्द्रबिन्दु
42
Shares

क्यानडाविरुद्धको एकदिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेलमा घरेलु टोली नेपाललाई पहिलो झट्का लागेको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा क्यानडाले जितका लागि दिएको २३३ रनको लक्ष्य पछ्याएको नेपालले ओपनर कुशल भुर्तेललाई गुमाएको हो । चौथो ओभरको पाँचौं बलमा उनी १३ रन जोड्दै आउट भएका हुन् । उनलाई डिलोन हेलिगरले बोल्ड गरे । राम्रो सुरुवात गरेको नेपालले हाल एक विकेटको क्षतिमा ४९ रन जोडिसकेको छ ।

यसअघि नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि ब्याटिङमा उत्रिएको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २३२ रन बनाएको थियाे । क्यानडाका लागि नवनीद धलिवालले अर्धशतकीय इनिङ खेले । ८२ बल खेलेका उनले ५ चौकाको मदतमा ५० रन जोडे । सुरुवातमै धर्मराएको क्यानडाका लागि उनको इनिङ महत्वपूर्ण थियो ।

त्यस्तै, निखिल दत्तले ४५ रन जोडे । रनआउट हुँदा अर्धशतकबाट भने चुके । साथै हर्ष ठाकर २९ रन, श्रेयास मोभा २५ रन तथा श्रीमन्थ विजयेन्ते २२ रनमा क्याच आउट भए । कप्तान साद बिन जाफर ३१ रनमा अविजित रहे । उनको फिनिसिङ उत्कृष्ट रह्यो । १५ बल खेलेका उनले ३ चौका र २ छक्का प्रहार गरे ।

बलिङमा नेपालका तीव्र गतिका बलर हेमन्त धामीले सर्वाधिक ३ विकेट लिए । आज मात्रै सिनियर राष्ट्रिय क्रिकेट टोलीबाट उनले ओडीआई डेब्यु गरेका हुन् । ८ ओभर बलिङ गरेका उनले ४९ रन खर्चिएर ३ विकेट लिएका हुन् । साथै कुशल मल्लले २ विकेट लिँदा आकाश चन्द र ललितनारायण राजवंशीले एकएक विकेट लिए ।

नेपालले यसअघि भएको दुवै खेलमा जित हासिल गरेको थियो । पहिलो खेलमा नेपालले क्यानडालाई ७ रन र दोस्रो खेलमा ४ विकेटले पराजित गरेको थियो । आजको खेलमा नेपालले क्यानडालाई हराउँदै उत्त सिरिजको क्लिन स्वीप गर्ने लक्ष्यका साथ मैदानमा उत्रिएको छ ।

Skip This
Skip This
Logo