क्यानडाविरुद्ध अनिल साहको लगातार दोस्रो अर्धशतक

क्यानडाविरुद्ध अनिल साहको लगातार दोस्रो अर्धशतक

केन्द्रबिन्दु
14
Shares

घरेलु टोली नेपालका ओपनर अनिल साहले क्यानडाविरुद्धको एकदिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेलमा पनि अर्धशतक प्रहार गरेका छन् ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा क्यानडाले जितका लागि दिएको २३३ रनको लक्ष्य पछ्याएको नेपालका लागि ओपनर अनिलले अर्धशतक पूरा गरेका हुन् । सो क्रममा उनले ८ चौका प्रहार गरे । खेलको दोस्रो ओभरमा अनिलले क्यानडाका उदय भगवानलाई लगातार चार चौका प्रहार गरेका थिए ।

यसअघि क्यानडाविरुद्धको दोस्रो खेलमा डेब्यू गरेका अनिलले सोही दिन अर्धशतकको कीर्तिमान बनाएका थिए । १९ बलमा अर्धशतक पूरा गर्दै उनले नेपालका लागि ओडीआईमा सबैभन्दा छिटो अर्धशतक प्रहार गर्ने खेलाडीको कीर्तिमानी आफ्नो नाममा बनाएका हुन् । यसअघि उक्त कीर्तिमानी २१ बलमा अर्धशतक पूरा गरेका आसिफ शेखको नाममा थियो ।

हाल नेपाल एक विकेट क्षतिमा ८९ रन बनाएर खेलिरहेको छ । क्रिजमा भिम सार्कीले साथ दिइरहेका छन् ।

यसअघि नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि ब्याटिङमा उत्रिएको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २३२ रन बनाएको थियाे । क्यानडाका लागि नवनीद धलिवालले अर्धशतकीय इनिङ खेले । ८२ बल खेलेका उनले ५ चौकाको मदतमा ५० रन जोडे । सुरुवातमै धर्मराएको क्यानडाका लागि उनको इनिङ महत्वपूर्ण थियो ।

त्यस्तै, निखिल दत्तले ४५ रन जोडे । रनआउट हुँदा अर्धशतकबाट भने चुके । साथै हर्ष ठाकर २९ रन, श्रेयास मोभा २५ रन तथा श्रीमन्थ विजयेन्ते २२ रनमा क्याच आउट भए । कप्तान साद बिन जाफर ३१ रनमा अविजित रहे । उनको फिनिसिङ उत्कृष्ट रह्यो । १५ बल खेलेका उनले ३ चौका र २ छक्का प्रहार गरे ।

बलिङमा नेपालका तीव्र गतिका बलर हेमन्त धामीले सर्वाधिक ३ विकेट लिए । आज मात्रै सिनियर राष्ट्रिय क्रिकेट टोलीबाट उनले ओडीआई डेब्यु गरेका हुन् । ८ ओभर बलिङ गरेका उनले ४९ रन खर्चिएर ३ विकेट लिएका हुन् । साथै कुशल मल्लले २ विकेट लिँदा आकाश चन्द र ललितनारायण राजवंशीले एकएक विकेट लिए ।

नेपालले यसअघि भएको दुवै खेलमा जित हासिल गरेको थियो । पहिलो खेलमा नेपालले क्यानडालाई ७ रन र दोस्रो खेलमा ४ विकेटले पराजित गरेको थियो । आजको खेलमा नेपालले क्यानडालाई हराउँदै उत्त सिरिजको क्लिन स्वीप गर्ने लक्ष्यका साथ मैदानमा उत्रिएको छ ।

Skip This
Skip This
Logo