घरेलु मैदानमा अपराजित नेपालको यात्रामा पूर्णविराम, नामिबिया ४ विकेटले विजयी

घरेलु मैदानमा अपराजित नेपालको यात्रामा पूर्णविराम, नामिबिया ४ विकेटले विजयी

केन्द्रबिन्दु
98
Shares

आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय क्रिकेट शृङ्खलाअन्तर्गत उद्घाटन खेलमा घरेलु टोली नेपालले हार व्यहोरेको छ । बिहीवार भएको खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको हो ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले जितका लागि दिएको १३३ रनको सामान्य लक्ष्य पछ्याएको नामिबियाले ३३.१ ओभरमा ६ विकेटको क्षतिमा पूरा गनै सफल भयो । नामिबियाका लागि जेन ग्रिनले सर्वाधिक ३४रन जोडे । साथै जान निकोल लोफ्टिइटनले ३१ रन जोडे । ओपनर माइकल भान लिंगेन २३ रनमा आउट हुँदा निको डाभीनले १५ रन जोडे । जेजे स्मिथ १७ रनमा नटआउट रहे ।

बलिङमा नेपालका तीव्र गतिका बलर सोमपाल कामीले ३ विकेट लिए भने ललित राजवंशीले २ विकेट लिए । कप्तान रोहितकुमार पौडेलले एक विकेट लिए । औसतमा नेपालको बलिङ राम्रै रहेपनि न्यून स्कोरको लक्ष्यका कारण नेपाल चुक्यो ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४४.१ ओभरमा अलआउट हुँदै १३२ रनमा समेटिएको थियो । यो घरेलु मैदानमा खेलिएको एकदिवसीय खेलमा नेपालले बनाएको अहिलेसम्मकै न्यून स्कोर हो । नेपालले घरेलु मैदानमा पहिलो पटक १५० रन पनि कटाउन नसकेको हो। यसअघि घरेलु मैदानमा नेपालको न्यून स्कोर १७९ रन थियो।

आजको खेलमा नेपालका कुनैपनि खेलाडीको ब्याटिङ सम्झनलायक रहेन । निकै खराव सुरुवात गरेको नेपालका लागि भीम सार्कीले सर्वाधिक ४४ रन जोडे । पाँचौ नम्बरमा व्याटिङमा आएका सार्कीले एकातिरबाट लगातार विकेट गइरहे पनि एकातिरबाट नेपाली इनिङ सम्हालेका थिए । तर, सातौं विकेटका रुपमा २७.४ ओभरमा एलबीडब्लू आउट भएका हुन् । उनले ८६ बलमा २ चौका र १ छक्का प्रहार गरे।

नेपालका लागि पाँच ब्याटरले मात्र दोहोरो रन छुन सके । अन्य सस्तैमा गुमे । १०औं नंबरमा मैदानमा उत्रिएका करण केसीले १६ रन जोडे । ३८ बल खेलेर उनले ३ चौकाको मदतमा रन जोडे । साथै पवन सर्राफ १२ रन, गुल्शन झा २१ रन र कुशल मल्लले १५ रन जोडे ।

पहिलो पावर प्लेको १० ओभरमा २५ रन जोड्दा ४ विकेट गुमाइसकेको थियो । खेलमा नेपालले पहिलो बलमै विकेट गुमायो। नेपालका ओपनर कुशल भुर्तेल रोयल डकआउट भए । त्यसपछि ब्याटिङमा आएका अनिल साह पनि ८ रनमै आउट भए। उनी पनि ट्रम्पलम्याचनकै एलबीडब्लूको धरापमा परे। चौथो ओभरमा आसिफ शेख पनि ४ रनमै आउट भए। कप्तान रोहितकुमार पौडेल पनि चौथो विकेटका रुपमा ज्याक ब्रासेलको बलमा बोल्ड भएका थिए । इन साइड एज लागेर बोल्ड आउट भएका उनले १० बलमा खाता खोले । तर, दोस्रो रन थप्न सकेनन् ।

बलिङमा नामिबियाका कप्तान जेरार्ड एरास्मसले सर्वाधिक ५ विकेट लिए । नेपालको मध्यक्रमलाई सस्तैमा समेट्न उनको बलिङ घातक बन्यो । त्यस्तै, रुबेन ट्रम्पलम्यान र ज्याक ब्रेसलले समान २/२ विकेट लिँदा निकोल लोफ्टिइटनले एक विकेट लिए ।

नेपालले त्रिवि क्रिकेट मैदानमा १५ खेलयता एक दिवसीय अन्तर्राष्ट्रिय प्रतिस्पर्धा हारेको थिएन । तर, उक्त यात्रामा आज पूर्णविराम लागेको छ । अन्तिम पटक सन् २०२२ को नोभेम्बरमा यूएईसँग पराजित भएको थियो ।

घरेलु मैदानमा आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ को नयाँ सर्कल आजदेखि नेपालमा सुरु भएको हो । आगामी सन् २०२७ सम्म चल्ने उक्त लिग–२ मा नेपालसहित आठ टोलीको सहभागिता हुनेछ । पहिलो सिरिजमा नेपाल, नामिबिया र नेदरल्यान्यड्सबीच प्रतिस्पर्धा हुन लागको हो ।

Logo