एसिसी महिला प्रिमियर कपबाट बाहिरियो नेपाल, गुम्याे स्वर्णिम अवसर

एसिसी महिला प्रिमियर कपबाट बाहिरियो नेपाल, गुम्याे स्वर्णिम अवसर

केन्द्रबिन्दु
84
Shares

नेपाल एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिता -२०२४ बाट बाहिरिएको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा घरेलु टोली मलेसियासँग ४ विकेटले पराजित भएपछि नेपालको यात्रा सकिएको हो । योसँगै नेपालले एसिया कप खेल्ने स्वर्णिम अवसर पनि गुमाएको छ ।

क्वालालाम्पुरमा नेपालले जितका लागि दिएको ११६ रनको लक्ष्य मलेसियाले निर्धारित २०ओभरमा ६ विकेटको क्षतिमा एक बल बाँकी रहँदा पूरा गर्न सफल भयो । मलेसियाका लागि इल्सा हन्टरले सानदार अर्धशतकीय पारि खेलिन् । ५३ बल खेलेकी उनले ६ चौकाको मदतमा ६९ रन जोडिन् । उनी अविजित नै रहिन् । साथै महिराह इजाती इस्मालीले १६ रन तथा मस इलिसाले १३ रन जोडिन् ।

बलिङमा नेपालकी कविता जोशी र सिता रानामगरले समान २/२ विकेट तथा कविता कुँवर र रुविना क्षेत्रीले समान एकएक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा एक सय १५ रन मात्रै बनाउन सक्यो । नेपालका लागि कप्तान इन्दु बर्मा सर्वाधिक २९ रन बनाइन । उनले ३७ बल खेल्ने क्रममा दुई चौका प्रहार गरिन् । त्यसैगरी डली भट्टले १४ बलमा एक चौका र दुई छक्काको सहयोगमा २५ , सीता रानामगरले छ, कविता कुँवरले ३१ बलमा दुई चौकाको सहयोगमा २३ र रुविना क्षेत्रीले १८ बलमा दुई चौकाको सहयोगमा २० रन बनाइन् ।

मलेसियाकी महिराह इजाती इस्मालीले दुई विकेट लिइन् भने विनिफ्रेड दुराई सिंघमले एक विकेट लिइन् ।

आज मलेसियालाई हराउन सके ८ वर्षपछि नेपाली महिला टोली एसिया कपमा पुग्ने थियो । तर, उक्त स्वर्णिम अवसर गुुम्यो । पछिल्लो पटक नेपालले २०१६ मा थाइल्यान्डमा एसिया कप टि–२० क्रिकेट खेलेको थियो । त्यसबेला भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र थाईल्यान्ड सबै पाँच टोलीसँग हारेर नेपाल बाहिरिएको थियो । अब एसिया कपमा वुमन्स प्रिमियर कपको फाइनलमा पुगेका दुई टोली मलेसिया र युएईसँगै भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका हुनेछन् ।

Logo