नौ दिनमा बायर्नको तेस्रो हार

नौ दिनमा बायर्नको तेस्रो हार

केन्द्रबिन्दु
126
Shares

म्युनिख। बायर्न म्युनिखले पछिल्ला ९ दिनमा तेस्रो हार बेहोरेको छ। आइतबार बुन्डेस लिगामा टोली भीएफएल बोचुमसँग २–३ गोलले पराजित भएको हो।

खेलमा अग्रता भने बायर्नले लिएको थियो। खेलको १४ औँ मिनेटमा जमाल मुसियालाले टोलीलाई अग्रता दिलाए। तर पहिलो हाफको अन्त्यतिर बोचुमले दुई गोल फर्कायो। टाकुमा असानो र केभेन स्क्लोटरबेकले एक–एक गोल गरे।

दोस्रो हाफमा डायोट उपामेकानोले रातो कार्ड पाएपछि बायर्न १० खेलाडीमा सीमित बन्यो। ७८ औँ मिनेटमा केभिन स्टोजरले पेनाल्टीबाट गोल गर्दै बोचुमलाई दुई गोलको अग्रता दिलाए।

खेलको अन्त्यतिर ह्यारी केनले एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। यसअघि टोली लेभरक्युजनसँग ३–० र च्याम्पियन्स लिगमा लाजियोसँग १–० गोलले पराजित भएको थियो। टोलीले लगातार तीन खेल हारेको सन् २०१५ को मेपछि पहिलोपटक हो।

पराजयपछि टोली शीर्ष स्थानमा रहेको लेभरक्युजनसँग ८ अङ्कले पछि परेको छ। २२ खेलबाट बायर्नको ५० अङ्क रहेको छ। टोली लिगको दोस्रो स्थानमा छ। समान खेलबाट बोचुमको २५ अङ्क छ।

Logo