केपी ओली कपको दोस्रो संस्करण सुरू, उद्घाटन खेलमा आयाेजक विजयी

केपी ओली कपको दोस्रो संस्करण सुरू, उद्घाटन खेलमा आयाेजक विजयी

केन्द्रबिन्दु
84
Shares

केपी ओली कपको दोस्रो संस्करण सुरू भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरू प्रतियोगिताको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी हुन् ।

राष्ट्रिय युवा संघको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन समारोहमा ‘हाइटेक’ प्रविधिको प्रयोग गरि पानसमा बत्ती बालिएको थियो । त्यस्तै ‘केपी ओली कप’ व्यानर अंकित ड्रोन पनि उडाइएको थियो ।

उद्घाटन समारोहमा भाग लिन एमाले अध्यक्ष केपी शर्मा ओली र पत्नी राधिका शाक्य पनि एन्फा कम्प्लेक्समा पुगेका थिए । उद्घाटन समारोहमा एमाले पार्टीका नेता, कार्यकर्ता, भ्रातृ संगठनका पदाधिकारी तथा खेलप्रेमीहरूको निकै बाक्लो उपस्थिति रहेको थियो ।

केपी ओली कपमा नेपालका सातवटा ‘ए’ डिभिजन, दुई विदेशी र आयोजकसहित १० टिमले सहभागिता जनाउने छन् । जावलाखेल युथ क्लब, न्यूरोड टिम एनआरटी, थ्रीस्टार, नेपाल पुलिस, त्रिभुवन आर्मी, चर्च ब्वाइज युनाइटेड, मच्छिन्द्र क्लब, दुई विदेशी क्लबमा दिल्ली एफसी, पश्चिम बङ्गाल क्लब र आयोजक केपी एफसी क्लबले सहभागिता जनाउँदै छन् ।

उक्त प्रतियोगिताका पहिलो चरणका खेल ११ देखि १६ गतेसम्म एन्फा कम्प्लेक्स सातदोबाटोमा खेलाइनेछ । यस्तै सेमिफाइनल र १९ गते हुने फाइनल खेल दशरथ रङ्गशालामा हुनेछन् ।

यो प्रतियोगिताको विजेता टोलीले ११ लाख पुरस्कार पाउने छ । यस्तै उपविजेता टोलीलाई ५ लाख दिइनेछ । उत्कृष्ट खेलाडीलाई एक लाख, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उत्कृष्ट उदयमान खेलाडीलाई ५०/५० हजार दिइनेछ ।

यसैगरी आज भएको उद्घाटन खेलमा आयोजक टिम केपी ओली फुटबल क्लबले विजयी सुरूवात गरेको छ । आयोजक टिमले चर्च ब्वाइज क्लबलाई ३–० गोलले पराजित गरेको हो । उसको जितमा फोडे फोफनाले ५८ मिनेटमा पहिलो गोल गरे । यस्तै जय गुरुङले दुई गोल गर्न सफल भए। उनले खेलको ६८ र ७९औं मिनेटमा गोल गरेका थिए ।

Logo