महिला प्रिमियर लिगः रोयल च्यालेन्जर्स बैंगलोरसँग युपी वारियर्स पराजित

महिला प्रिमियर लिगः रोयल च्यालेन्जर्स बैंगलोरसँग युपी वारियर्स पराजित

केन्द्रबिन्दु
42
Shares

काठमाडौं। महिला प्रिमियर लिग (डब्ल्यूपीएल) मा रोयल च्यालेन्जर्स बैंगलोरले युपी वारियर्सलाई २ रनले पराजित गरेको छ। बैंगलोरको एम चिन्नास्वामी स्टेडियममा पहिले ब्याटिङ गरेको आरसीबी महिला टोलीले २० ओभरमा ६ विकेट गुमाएर १५७ रन बनाएको थियो।

चुनौतीपूणर् लक्ष्यको जवाफमा युपी वारियर्स २ रनले पराजित भएको हो। बैंगलोरका लागि शोभना आशा जोयले ५ विकेट लिइन्। उनी डब्ल्यूपीएलमा एक इनिङ्समा ५ विकेट लिने पहिलो भारतीय बलर बनिन्।

टस हारेर पहिला ब्याटिङमा आएको बैंग्लोरको टोलीको सुरुवात खराब रहेको थियो। ओपनर सोफी डेभिन र कप्तान स्मृति मन्धाना १३ रन बनाएर प्याभिलियन फर्किए भने अनुभवी ब्याट्सम्यान एलिस पेरी पनि ८ रन बनाएर आउट भइन्।

सेबिनेनी मेघना र ऋचा घोषले चौथो विकेटका लागि ७१ रनको महत्वपूणर् साझेदारी गरेका थिए । मेघनाले ४४ बलमा ७ चौका र १ छक्का सहित ५३ रन बनाइन्। अर्को इनबाट ऋचा घोषले पनि आफ्नो दमदार अर्धशतक पूरा गरिन्। ऋचा घोषले ३७ बलमा १२ चौकाको मद्दतले ६२ रन बनाएर आरसीबीले विपक्षीलाई चुनौती पूणर् १५८ रनको लक्ष्य दिएको थियो। युपीकी राजेश्वरी गायकवाडले २ विकेट लिइन्।

जवाफमा युपी वारियर्सको सुरुवात पनि खराब रह्यो। कप्तान एलिसा हिलीले ५ रन बनाएर आउट भए पनि वृन्दा दिनेशले १८ रन र ताहिला म्याकग्राले २२ रन जोडिन्।

आफ्नो टोलीको लागि प्रारम्भिक झटकाबाट मुक्त भएपछि, वृन्दा र ताहिला एकै ओभरमा आशा जोयको शिकार भए। चौथो विकेटका लागि ग्रेस ह्यारिस र श्वेता शेरावतले युपीलाई खेलमा फर्काए।

उनीहरुले ७७ रनको उत्कृष्ट साझेदारी गरे तर आशाको एक ओभरमा बैंगलोरले फेरि खेललाई आफ्नो पक्षमा फर्काएको थियो । आशा जोयले अन्तिम बलमा पहिले श्वेता त्यसपछि ह्यारिस र किरण नवगिरेलाई आउट गर्दै प्रतियोगितामा ५ विकेट लिएर इतिहास रचिन्। युपीका लागि पुनम खेमनार र दीप्ती शर्माले उत्कृष्ट प्रयास गरे पनि उनको टोली जितबाट २ रन टाढा रह्यो।

Logo