बलिङ र ब्याटिङ नचल्दा नेदरल्याण्ड्सविरुद्ध स्तब्ध बन्यो नेपाल

बलिङ र ब्याटिङ नचल्दा नेदरल्याण्ड्सविरुद्ध स्तब्ध बन्यो नेपाल

केन्द्रबिन्दु
70
Shares

घरेलु टोली नेपाल आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत पहिलो सिरिजको अन्तिम खेलमा नेदरल्याण्ड्सविरुद्ध स्तब्ध भएको छ । आइतबार भएको आफ्नो चौथो खेलमा नेपाल नेदरल्यान्ड्ससँग ८ विकेटले पराजित भएको हो । यसअघि पहिलो खेलमा नेदरल्याण्ड्समाथि नेपालले ९ विकेटको सानदार जित दर्ता गरेको थियो । जुन जित नेपालको सिरिजमा पहिलो जित मात्रै बन्यो । यसअघिका दुवै खेलमा नामिवियाविरुद्ध नेपाल पराजित हुन पुगेको थियो ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले जितका लागि दिएको १७३ रनको लक्ष्य नेदरल्याण्ड्सले मात्र २ विकेटको क्षतिमा ३७.५ ओभरमा पूरा गर्न सफल भयो । नेदरल्याण्ड्सका लागि विक्रमजित सिंहले अर्धशतकीय पारी खेले । ९२ बल खेलेका उनलले ७ चौकाको मदतमा ५८ रन जोडे । साथै साइब्रान्ड एंगलब्रेक्टले ४६ रन जोडे । उनीहरु दुवै नटआउट रहे ।

यसअघि नेपालका लागि दीपेन्द्रसिंह ऐरीले पहिलो विकेट दिलाएका थिए । उनले आठौं ओभरको चौथो बलमा नेदरल्यान्ड्सका ओपनर मिचेल लेभिटलाई ३९ रनमा बोल्ड गरेका हुन् । उनले ३४ बलमा ३ चौका र ४ छक्का प्रहार गरेका थिए । यस्तै अर्का ‌ओपनर म्याक्स ओुडाउद २८ रन जोडेर आउट भएका छन्। उनलाई नेपालका ललित राजवंशीले पवेलियन फर्काए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाउँदै १७२ रन बनाएको थियाे । नेपालका लागि कुशल भुर्तेलले ९३ बल खेल्दै आठ चौकाको मद्दतमा ६६ रन बनाए । त्यस्तै करण केसीले २६ रन बनाउदा आरिफ शेखले २२ रन जोडे । आसिफ शेखले १७, कप्तान रोहितकुमार पौडेलले १६, अनिल शाहले सात र गुल्शन झा पाँच रन बनाए ।

नेदरल्याण्डसका आर्यन दत्त र भिभियन किङ्ग्माले समान तीन/तीन विकेट लिए । यसैगरी बास डि लिडेले दुई विकेट लिँदा रोलेफ भान डर मर्वेले एक विकेट लिए ।

यससँगै नेपालले लिग-२ अन्तर्गत घरेलु मैदानमा तेस्राे हार बेहोरेको छ । तालिकामा नामिबियाको ६ अंकका साथ शीर्ष स्थानमा छ । नेदरल्यान्ड्सको ४ अंक तथा नेपालको २ अंक रहेको छ । नेपाल घरेलु मैदानमै तेस्राे बन्याे । अब नेपालले लिग-२ अन्तर्गत सेप्टेम्बरमा क्यानडा र अक्टोबरमा अमेरिकाको भ्रमण गर्नेछ ।

Logo