डब्ल्यूपीएलमा मुम्बईको लगातार जित

डब्ल्यूपीएलमा मुम्बईको लगातार जित

केन्द्रबिन्दु
98
Shares

काठमाडौं। वुमन्स प्रिमियर लिग (डब्ल्यूपीएल) को डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सले लगातार दोस्रो जित निकालकेको छ। पहिलो खेलमा दिल्ली क्यापिटल्सलाई हराएको मुम्बई इन्डियन्सले आफ्नो दोस्रो खेलमा आइतबार राति गुजरात जाइन्ट्सलाई ५ विकेटले पराजित गरेकाे हाे।

मुम्बईको जितमा कप्तान हरमनप्रीत कौर र न्यूजिल्याण्डकी युवा अलराउन्डर अमेलिया केरले उत्कृष्ट योगदान गरे। पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित ओभरमा ९ विकेट गुमाएर १२६ रन बनाएको थियो। १२७ रनको लक्ष्यको जवाफमा मुम्बईले ५ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो।

मुम्बई इन्डियन्सकी कप्तान हरमनप्रीत कौरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेकी थिइन्। फास्ट बलर शबनम इस्माइलको घातक बलिङका अगाडि गुजरातको शीर्ष क्रम ध्वस्त भएको थियो।

शबनमले पहिला वेदा कृष्णमूर्तिलाई शून्य र हरलिन देओललाई ८ रनमा पभेलियन पठाएकी थिइन्। त्यसपछि नेट सिभर ब्रन्टले फोबी लिचफिल्डलाई ८ रनमा र हेली म्याथ्युजले हेमलतालाई ३ रनमा आउट गरिन्।

पाँचौं विकेटका रूपमा इस्माइलले कप्तान बेथ मुनीलाई २४ रनमा आउट गराइन्। अन्त्यमा क्याथरिन बुरिसको २५ रन र तनुजा कन्वरको २८ रनले गर्दा गुजरातले मुम्बईलाई चुनौतीपूर्ण लक्ष्य दिएको थियो। मुम्बईका लागि मेलिया केरले सर्वाधिक ४ विकेट लिइन् भने शबनमले ३ विकेट हात पारिन्।

१२७ रनको लक्ष्यको जवाफमा मुम्बईको सुरुवात पनि खराब रहेको थियो। पछिल्लो खेलमा अर्धशतक प्रहार गर्ने यास्तिका भाटिया ७ रन बनाएर आउट भएकी थिइन् भने हेली म्याथ्युजले पनि ७ रन मात्र बनाइन्।

तेस्रो नम्बरमा ब्याटिङ गर्न आएकी नेट सिभर ब्रन्ट २२ रन बनाएर रनआउट हुँदा कप्तान हरमनप्रीत कौर एक छेउमा अडिग रहिन् र मेलिया केरसँग ६६ रनको महत्वपूर्ण साझेदारी गरिन्। मेलिया केरले ३१ रनको योगदान दिएकी थिइन्। हरमनप्रीत कौरले छक्का प्रहार गर्दै खेलको अन्त्य गरिन् र ४६ रनमा नटआउट रहिन्।

गुजरातका लागि तनुजा कन्वरले सर्वाधिक २ विकेट लिइन्। डब्ल्यूपीएल अन्तर्गत आज दिल्ली क्यापिटल्स र युपी वारियर्सबीच प्रतिस्पर्धा हुनेछ। दुवै टिम पहिलो जितको खोजिमा हुने छन्। खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ।

Logo