नामिबियाविरुद्ध टि२०आईमा पनि केही लागेन नेपालकाे, २० रनले पराजित

नामिबियाविरुद्ध टि२०आईमा पनि केही लागेन नेपालकाे, २० रनले पराजित

केन्द्रबिन्दु
14
Shares

घरेलु टोली नेपाल त्रिकोणात्मक टी २० आई सिरिजअन्तर्गत पहिलो खेलमा पराजित भएको छ । मंगलबार भएको खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाले जितका लागि दिएको २०७ रनको विशाल लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा १८६ रनमा अलआउट भएको हो । नेपालका लागि दीपेन्द्रसिंह ऐरी २ रनले अर्धशतकबाट चुके । ३२ बल खेलेका उनले २ चौका र २ छक्काको मदतमा ४८ रन बनाएर आउट भए । त्यस्तै, कप्तान रोहितकुमार पौडेलले ४२ रन जोडे । ओपनर कुशल भुर्तेल गोल्डेन डकआउट भएपछि धर्मराएको नेपालको ब्याटिङ पछि पनि चलेन । कुशल मल्लले ३२ रन जोड्दा ३२ रन जोड्दा ११ बल मात्रै खेलेका सोमपाल कामीले २६ रन जोडे ।

रुबेन ट्रम्पलम्यानले ४ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ राजेको नामिबियाले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै दुई सय ६ रनको योगफल बनाएको थियाे । नामिबियाका लागि जान निकोल लेफिट इटनले उत्कृष्ट ब्याटिङ गर्दै शतक प्रहार गरे । उनले ३६ बलमा ११ चौका र आठ छक्काको मद्धतमा सर्वाधिक एक सय एक रनको योगदान दिए । इटनले नेपालका कुशल मल्लको नाममा रहेको कीर्तिमानी पनि तोडेका छन् । उनले ३३ बलमै शतक पूरा गरे । यसअघि मल्लले सन् २०२३ मा भएको १९औँ एसियाली खेलकुद प्रतियोगितामा मङ्गोलियाविरुद्धको खेलमा ३४ बलमा शतक प्रहार गर्दै कीर्तिमानी कायम गरेका थिए ।

त्यसैगरी मलना क्रुगरले ४८ बलमा छ चौका र दुई छक्काको मद्धतमा अविजित ५९ रन बनाए । त्यस्तै माइकल भान लिङ्गेनले २० रन बनाउदा जेपी कोट्जेले ११ रन तथा कप्तान जेजे स्मितले अविजित एक रन जोडे ।

बलिङतर्फ नेपालका कप्तान रोहित पौडेलले दुई विकेट लिए भने करण केसी र अभिनास बोहोराले समान एक/एक विकेट लिए ।

नेपाल, नामिबिया र नेदरल्यान्ड्सले आइसीसी विश्वकप क्रिकेट लिग–२ पछि ट्वान्टी २० खेल खेलेका हुन् । यसअघि भएको एकदिवसीय नेपाल भ्रमणमा रहेको नामिबियाले त्रिवि मैदानमा पछिल्लो चार खेलमध्ये तीन खेलमा जित हासिल गरेको थियो । यता नेपालले भने नामिबियासँग पहिलो खेलमा चार विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा दुई विकेटको हार बेहोरेको थियो ।

Logo