जितको मुखमा पुगेर नेदरल्यान्डसँग हार्यो नेपाल

जितको मुखमा पुगेर नेदरल्यान्डसँग हार्यो नेपाल

केन्द्रबिन्दु
126
Shares

घरेलु टोली नेपालले त्रिकोणात्मक टी–२० आई सिरिजमा लगातार दोस्रो हार व्यहोरेको छ । बुधबार भएको खेलमा नेपाल नेदरल्यान्डसँग २ रनले पराजित भएको हो । हिजो भएको पहिलो खेलमा भने नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्डले दिएको १८५ रनको विजयी लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १८२ रन मात्रै जोड्न सक्यो । नेपाललाई अन्तिम ओभरको ४ बलमा ५ रन चाहिएको थियो, क्रिजमा थिए दीपेन्द्रसिंह ऐरी र करण केसी । दीपेन्द्रले ओभरको पहिलो र दोस्रो बलमा चौका र छक्का प्रहार गरिसकेका थिए । तर, १९औं ओभरको तेस्रो बलमा करण रनआउट हुन पुगे । उनी ११ रनमा पवेलियन फर्किए । त्यसपछि अर्को बलमा भ्यान्डर मेर्वेले दीपेन्द्रलाई बोल्डआउट गरिदिए । त्यसपछि खेल नेदरल्यान्डको हातमा पुग्यो । सानदार ब्याटिङ गरिरहेका दीपेन्द्रले ६३ रन जोडे । ऐरीले २८ बलमा अर्धशतक पूरा गरेका थिए । ३४ बल खलेका उनले ६ चौका र ३ छक्का प्रहार गरे ।

नेपालका कप्तान रोहितकुमार पौडेलले ५० रनको अर्धशतकीय इनिङ खेले । साथै ओपनर आशिफ शेखले ३४ रन जोडे । तर, अर्का ओपनर कुशल भुर्तेललाई नेपालले शून्य रनमा गुमायो । पहिलो ओभरको चौथो बलमा भुर्तेल डक आउट भएका हुन् । उनी मंगलबार भएको नामिबियाविरुद्धको खेलमा पनि पहिलो बलमै डकआउट भएका थिए ।

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा मात्र ४ विकेट गुमाउँदै १८४ रन जोडेको थियाे । नेदरल्यान्ड्सका लागि माइकल लेभिटले अर्धशतकीय इनिङ खेले । ३६ बल खलेका उनले छ चौका र ३ छक्काको मदतमा ५४ रन प्रहार गरे । त्यस्तै स्याब्रान्ड एंगेलब्रेक्टले ३८ बल खेल्दै चार चौका र एक छक्काको मद्दतमा ४९ रन बनाए । स्कट एडवार्डसले १६ बल खेल्दै पाँच चौकाको मद्दतमा ३३ रन जोडे । तेजा निडामानिरुले ३१ रन जोड्दा म्याक्स ओडाउडले चार रन बनाए ।

बलिङमा नेपालका कुशल मल्ल र करण केसीले एक-एक विकेट लिए ।

Logo