नेपालले उपाधिका लागि नेदरल्यान्ड्सलाई दियो १८५ रनको लक्ष्य

नेपालले उपाधिका लागि नेदरल्यान्ड्सलाई दियो १८५ रनको लक्ष्य

केन्द्रबिन्दु
42
Shares

घरेलु टोली नेपालले त्रिकोणात्मक टी–२० आई सिरिजको उपाधिका लागि नेदरल्यान्ड्सलाई प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १८४ रन जोडेको हो । नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ४७ रनको इनिङ खेले । उनी अर्धशतक बनाउन बाट भने चुके । ३७ बल खेलेका उनले ३ छक्का र १ चौका प्रहार गरे । राम्रो सुरुवात गरेको नेपाल फिनिसिङमा भने चुक्यो । २३ रन बनाउँदा पहिलो विकेटको रुपमा अर्का ओपनर कुशल भुर्तेललाई नेपालले गुमायो । १०बल खेलेका उनले २ छक्का र १ चौकाको मदतमा २० रन जोडे ।

त्यस्तै, गुलसन झाले ३ छक्काको मदतमा ३४ रन जोडे । ११ बल मात्रै खेलेका कुशल मल्ल २६ रन जोड्दै आउट भए । उनले एकै ओभरमा ३ छक्का प्रहार गर्न सफल भएका थिए । ठूलो सट खेल्ने धुनमै उनी आउट भए । कप्तान रोहितकुमार पौडेलले २५ रन जोडे । १७औं र १८औं ओभरमा नेपालले लगातार ४ विकेट गुमाएपछि खेलको अन्तय नेपालले राम्रो गर्न सकेन ।

नेदरल्याण्ड्सका लागि फ्रेड काल्सेन, टिम भान डेर गुग्टेन, माइकल लेभिट र साइब्राण्ड एङ्गलब्रेक्टले समान दुई/दुई विकेट लिए ।

नेपालले नेदरल्यान्ड्ससँग घरेलु मैदानमा दोस्रो पटक त्रिकोणात्मक टी-२० आई शृङ्खलाको फाइनल खेलिरहेको हो । यसअघि सन् २०२१ मा भएको फाइनल खेलमा नेपालले नेदरल्यान्ड्सलाई एक सय ४२ रनले हराउँदै प्रतियोगिताको उपाधि जितेको थियो । नेपाल लिग चरणमा चार अङ्कका दोस्रो स्थानमा रहँदै फाइनल प्रवेश गरेको हो भने पाँच अङ्क जोडेको नेदरल्यान्ड्स शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो । नामिबिया र नेदरल्यान्ड्सबीचको अन्तिम खेल वर्षाले रद्द भएको भएपछि दुबै टोलीले एक एक अङ्क बाँडेका थिए ।

लिग चरणमा नेपालले नेदरल्यान्ड्स र नामिबियासँगको सुरूवाती दुई खेलमा पराजित हुँदा पछिल्ला दुई खेलमा भने जित हात पारेको थियो ।

Logo