राष्ट्रिय टी-२० क्रिकेटः सुदूरपश्चिम र आर्मी विजयी

राष्ट्रिय टी-२० क्रिकेटः सुदूरपश्चिम र आर्मी विजयी

केन्द्रबिन्दु
28
Shares

विराटनगर। विराटनगरमा जारी कोशी प्रदेश ट्रफी पेप्सी नेशनल टी-२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र आर्मी विजयी भएका छन्।

मोरङ क्रिकेट संघको आयोजनामा विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा शुक्रबार भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले विभागिय टोली नेपाल पुलिसलाई ५२ रनले पराजित गरेको छ।

जितसँगै सुदूरपश्चिम ३ खेलमा २ मा जित र १ मा पराजित हुँदै ४ अंकको साथ दोस्रो स्थानमा उक्लिएको छ। टस जितेर ब्याटिङ गरेको सुदूरले नारायण जोशीको बिस्फोटन ब्याटिङमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८३ रनको स्कोर खडा गरेको थियो।

सुदूपश्चिमका लागि अविशेक पालले ३९ बलमा २ छक्का र ७ चौका प्रहार गरी ५८ रन बनाए। प्लेयर अफ द म्याच नारायण जोशीले विस्फोटक ब्याटिङ गर्दै १२ बलमा ६ छक्काको मद्दतमा ४० रन र किरण ठगुन्नाले ३० रनको योगदान दिए।

पुलिसका शरद भेश्वाकरले ४ ओभरमा १ मेडन राख्दै ३ विकेट लिँदा मन्जित श्रेष्ठले २ विकेट लिए। जवाफमा १ सय ८४ रनको लक्ष्य पछ्याएको पुलिसले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ३१ रनमा समेटियो। पुलिसका शंकर रानाले नटआउट ९१ रनको पारी सम्हाले।

६२ बलको सामना गरेका रानाले ५ छक्का र ९ चौका प्रहार गरेका थिए। त्यस्तै, अविशेक कार्कीले २० बनाए। सुदूरपश्चिमका दिपक चन्द र शेर मल्लले समान २ ÷२ र नारायण जोशीले १ विकेट लिए।

आजै भएको दोस्रो खेलमा विभागिय टोली त्रिभुवन आर्मीले कर्णाली प्रदेशलाई ८ रनले पराजित गरेको छ। टस जितेर ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय ४० रनको योगफल तयार पारेको थियो।

आर्मीका प्लेयर अफ द म्याच वसिर अहमदले ३८ बलमा २ छक्का र २ चौका प्रहार गरि ४२ रन बनाए। यस्तै,सन्दिप रजालीले नटआउट ४१ रन र सन्तोष कार्कीले ३४ रनको योगदान दिए। कर्णालीका प्रकाश जैशीले २ विकेट लिँदा दिनेश अधिकारी र दिपेन्द्र रावतले १–१ विकेट लिए।

जवाफमा १ सय ४१ को लक्ष्य पछ्याएको कर्णालीले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रन मात्र जोड्यो। कर्णाली लागि दिपेन्द्र रावतले नटआउट ४७ रन बनाउँदा रविन्द्र शाहीले २२ रन र विपिन रावतले १८ रनको योगदान दिए। आर्मीका नितेश पटेलले २ विकेट लिँदा तीर्थराज दास, पवन कार्की, शहाव अलाम वसिर अहमदले १–१ विकेट लिए।

प्रतियोगिताअन्तर्गत शनिबार पहिलो खेल कर्णाली र एपिएफ र तथा दोस्रो खेल वागमती र लुम्बिनीबीच खेल हुने आयोजक मोरङ क्रिकेट संघका अध्यक्ष महमद साद बाबु कुरैसीले जानकारी दिए।

Logo