फारवेष्ट पशुपति गौरीगंगा गोल्डकपको फाइनलमा

फारवेष्ट पशुपति गौरीगंगा गोल्डकपको फाइनलमा

केन्द्रबिन्दु
42
Shares

धनगढी। फारवेष्ट पशुपति युवा क्लब कैलालीको गौरीगंगामा जारी चौथो संस्करणको गौरीगंगा गोल्डकप २०८० को फाइनलमा पुगेको छ। लिक्मा खेल मैदानमा मंगलबार भएको दोस्रो सेमीफाइनल खेलमा आयोजक गौरीगंंगा ११ स्पोर्टस क्लबलाई टाईब्रेकरमा ३-१ ले हराउँदै फारवेष्ट पशुपति फाइनलमा पुगेको हो।

निर्धारित समय दुवै टोलीले गोलरहित बराबरीमा रहेपछि खेल टाइब्रेकरमा पुगेको थियो फारवेष्ट पशुपतिका लागि विवेक शाही, पवन थापा र दीपेश ओलीले पेनाल्टीलाई गोलमा परिणत गर्दा शिशिर केसीको प्रहार गोलपोष्ट माथिबाट बाहिरियो भने रोहित बोहोराको प्रहार गोलपोष्टमा लागेर फर्कियो। गौरीगंंगा ११ स्पोर्टस क्लबका लागि सुरज थापाले मात्रै गोल गर्न सके।

निर्मल बलको प्रहार फारवेष्टका गोलरक्षक अमानत शेखले बचाए। हरिश भट्टको प्रहार गोलपोष्टमा लागेर फर्किदा टोप विष्टको प्रहार गोलपोष्ट माथिबाट बाहिरियो। खेलमा उत्कृष्ट प्रदर्शन गरेका फारवेष्ट पशुपतिका गोलरक्षक अमानत शेख म्याच अफ द म्याच घोषित भए। उनले नगद ५ हजार सहित ट्रफी पाए।

बिहीबार हुने प्रतियोगिताको फाइनलमा फरवेष्टले स्टार सिटी युवासँग उपाधिका लागि खेल्नेछ। कैलालीको गौरीगंगामा २०७४ सालदेखि आयोजना हुँदै आएको गोल्डकपको यस वर्षको विजेताले नगद ६ लाख र उपविजेताले ३ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन्।

सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार, उत्कृष्ट विधाका खेलाडीले १५-१५ हजार नगद र हरेक खेलको म्यान अफ दी म्याचले ५ हजार पाउने छन्। कैलालीमा राष्ट्रियस्तरका खेल आयोजना गर्न मिल्ने अर्को रंगशाला निर्माणमा जोड दिन प्रतियोगितालाई निरन्तरता दिइएको आयोजकले जनाएका छन्।

Logo