काँकडभिट्टालाई हराउँदै एनआरटी उपाधि नजिक

काँकडभिट्टालाई हराउँदै एनआरटी उपाधि नजिक

केन्द्रबिन्दु
70
Shares

विराटनगर। काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई हराउँदै न्युरोड टिम (एनआरटी) सुनसरीको धरानमा जारी बुढासुब्बा गोल्डकपको उपाधि नजिक पुगेको छ।

धरान रंगशालामा बिहीबार भएको अन्तिम सेमिफाइनलमा काँकडभिट्टालाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले हराउँदै एनआरटीले एन्फा मोरङसँग फाइनलमा भेट पक्का गरेको हो।

उपाधिका लागि शनिबार एनआरटी र एन्फा मोरङबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ। निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएको थियो। त्यसपछि खेलको निर्णय सिधै पेनाल्टी सुटआउटबाट लिइएको हो।

एनआरटीका गोलरक्षक प्रमञ्जय गच्छदारले काँकडभिट्टाका विशाल घलानको प्रहार बचाएका थिए। काँकडभिट्टाका दिवस उराव, विमल घर्तीमगर, अभिषेक गुरुङ र देवेन्द्र तामाङको प्रहार गोलमा परिणत भएको थियो।

यसैगरी, एनआरटीका जय गुरुङ, सरोज तामाङ, शिशिर लेखी, मोहित गुरुङ र सनम लिम्बुले गोल गरेका थिए। निर्धारित समयको ४४औं मिनेटमा फोडेफोफनाले गोल गरेर काँकडभिट्टालाई अग्रता दिलाएको ३ मिनेट बित्न नपाउँदै अतिरिक्त ३ मिनेट थपिएको समयमा एनआरटीका सरोज तामांगले फ्रीकिक मार्फत् गोल गरेर खेललाई बराबरी पुर्याएका थिए।

आजको खेलको म्यान अफ दि म्याच एनआरटीका सरोज तामाङ भए। उनले नगद १० हजार रुपैयाँ पुरस्कार पाए। शनिबार हुने फाइनल खेलको विजेता टोलीले १० लाख रुपैयाँसहित ट्रफी पाउनेछ। यस्तै, उपविजेता टिमले ५ लाख रुपैयाँ पुरस्कार पाउने छ।

Logo