पाकिस्तान सुपर लिगमा पेसावर जाल्मीलाई हराउँदै मुल्तान सुल्तान फाइनल पुग्यो

पाकिस्तान सुपर लिगमा पेसावर जाल्मीलाई हराउँदै मुल्तान सुल्तान फाइनल पुग्यो

केन्द्रबिन्दु
84
Shares

काठमाडौं। मुल्तान सुल्तान पाकिस्तान सुपर लिग (पीएसएल)को फाइनलमा प्रवेश गरेको छ। जारी सिजनमा शीर्ष स्थानमा रहँदै पहिलो क्वालीफायर खेलेको मुल्तानले पेसावर जाल्मीलाई ७ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।

पेसावर जाल्मीले निर्धारित ओभरमा ७ विकेट गुमाएर १४६ रन बनाएको थियो। जवाफमा मुल्तानले १८.३ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पूरा गर्दै फाइनलमा स्थान बनायो।

कराचीमा टस जितेर पहिला ब्याटिङ गरेको पेसावरले सुरुआत राम्रो गरेन। टिमको स्कोरबोर्डमा चार रन भएका बेला ओपनर सयम अयुबलाई गुमायो।

उनले एक रनमात्रै बनाए। त्यसपछि कप्तान बाबर आजम र मोहमद हेरिस मिलेर खेल अघि बढाएका थिए। छैटौं ओभरमा हेरिस १४ बलमा २२ रन बनाएर आउट हुँदा पेशावरको रन ५१ थियो।

त्यसपछि क्रिजमा आएका हेसबुलाह खान जम्मा तीन रन जोडेर तेस्रो विकेटको रुपमा आउट भए। टम कोलेर काडमोर र बाबरले टिमको स्कोर १०० प्लस बनाए। १०१ रन भएका बेला कप्तान बाबर ४२ बलमा ४६ रनको पारि खेल्दै आउट भए। पेशावरले पाँचौं विकेट १५.२ ओभरमा गुमाएको थियो। टम २४ बलमा २४ रन बनाएर आउट भए।

रोभमन पावेलले १२ रन जोड्दा पौल वाल्टरले नटआउट १४ रन जोडे। अमेर जमाले १ रनमा आउट हुँदा लुक वुड नटआउट १४ रनमा रहे। वाल्टर र वुडले नटआउट १४–१४ रनको पारि खेलपछि पेशावरले निर्धारित ओभरमा ७ विकेट गुमाएर १४६ रन बनायो।

मुल्तानका लागि उस्मा मीर र क्रिस जोर्डनले समान दुई – दुई विकेट लिए। १४७ रनको लक्ष्यसहित मैदान उत्रिएको मुल्तानको सुरुआत राम्रो भयो। पहिलो विकेटका लागि यासिर खान र कप्तान मोहमद रिजवाले ६१ रनको साझेदारी गरे।

रिजवान १५ रन बनाएर आउट भएका थिए। त्यसपछि यासिर र उस्मान खान मिलेर पारि अघि बढाए। यासिर ३७ बलमा ५४ रनको अर्धशतकीय पारि खेलेर आउट हुँदा मुल्तानले १०.५ ओभरमा ८४ रन बनाएको थियो। त्यसपछि उस्मान खान र जोनसन कार्लेसले मुल्तानको स्कोर ११५ रन प्लस बनाए।

११९ रन भएका बेला कार्लेस ११ रन बनाएर पभेलियन फर्किएका थिए। उनीपछि क्रिजमा आएका इफ्तिकर अहमदले उस्मानलाई गतिलो साथ दिँदै टिमलाई जित दिलाए। उस्मानले २८ बलमा ३६ तथा इफ्तिकरले ८ बलमा २२ रनको उत्कृष्ट नटआउट पारि खेलेका थिए।

पेशावरका लागि मेहरान मुमताज, अमेर जमाल र सल्मान इस्रिदले समान एक –एक विकेट लिए। पहिलो क्वालीफायरमा पराजित भएको पेशावरले फाइनल पुग्न अझैं अर्को मौका पाउने छ। पीएसएल अन्तर्गत आज एलिमिनेटरमा इस्लामावाद युनाइटेड र क्वेटा ग्लाडियटर्स भिड्दैछन्। यो खेल राति पौने १० बजे सुरु हुनेछ। आजको विजेताले फाइनल प्रवेशका लागि पेशावरसँग शनिबार खेल्नु पर्नेछ। लिगको फाइनल खेल भने सोमबार हुनेछ।

Logo