आरबीबी एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप सुरु

आरबीबी एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप सुरु

केन्द्रबिन्दु
56
Shares

काठमाडौं। आठौं संस्करणको आरबीबी एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप शनिबारदेखि सुरु भएको छ।त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सुरु भएको प्रतियोगिताको युवा तथा खेलकुदमन्त्री विराज भक्त श्रेष्ठले उद्घाटन गरेका छन्।

सो अवसरमा मन्त्री श्रेष्ठले खेलकुदको नाउँमा मानवतस्करी गर्नेहरुको विवरण संकलन गरी रहेको र उनीहरुलाई कानूनी कारबाहीको दायरामा ल्याउने बताए। सोही अवसरमा मन्त्री श्रेष्ठले नेपाल भलिबल संघको आजिवन सदस्यता पनि लिएका थिए।

प्रतियोगिता अन्तर्गत पहिलो दिन शनिबार महिलातर्फ एक र पुरुषतर्फ तीन वटा खेल सम्पन्न भएका छन्। पुरुषतर्फ त्रिभुवन आर्मी, नेपाल पुलिस क्लबर कोशी प्रदेशले विजयी सुरुआत गर्दा महिलातर्फ एभरेष्ट भलिबल क्लबले जित निकालेको छ। पहिलो खेलमा एभरेष्ट भलिबल क्लबले कर्णाली प्रदेशलाई ३-० को सोझो सेटमा पाखा लगाएको थियो।

नेपाली राष्ट्रिय टिमकी कप्तान अरुणा शाहीसहित तीन जना भारतीय खेलाडी समावेश गरेको एभरेष्टले कर्णालीमाथि २५-१२, २५-७ र २५-११ को सहज जित दर्ता गरेको हो।

प्रतियोगिताअन्तर्गत पुरुषतर्फ नेपाल पुलिस क्लबले कणर्ाली प्रदेशलाई २५-९,२५-१३ र २५-१३ गरि ३-० को सेटमा हराउँदै च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। यसैगरी, कोशी प्रदेशले ढोरपाटन क्लबलाई ३-१ को सेटमा पराजित गरेको थियो।

पहिलो सेट २३-२५ ले गुमाएको कोशीले त्यसपछिका तीन सेट लगातार जित्दै सुखद् सुरुआत गरेको हो। कोशीले २५-२०,२५-१८ र २५-१९ ले आफ्नो पक्षमा पारेको थियो।

यसैगरी शनिबारको अन्तिम खेलमा त्रिभुवन आर्मीले गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा स्तब्ध बनायो। पहिलो सेट निकै प्रतिस्पर्धात्मक बनेको थियो । जसमा आर्मीले २९-२७ ले जितेको थियो। त्यसपछि दोस्रो र तेस्रो सेट भने क्रमश २५-१९, २५- १७ ले बाजी मारेको थियो।

नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा चैत १० गतेसम्म संचालन हुने प्रतियोगितामा महिलातर्फ ७ र पुरुषतर्फ १३ गरि कुल २० टोलीको सहभागिता रहेको छ।

महिलातर्फ समूह ए मा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश र एभरेष्ट भलिबल क्लब रहदा समूह बि मा चन्द्रागीरि नगरपालिका न्यु डायमण्ड भलिबल क्लब, नेपाल एपीएफ क्लब र मधेश प्रदेश रहेका छन्

पुरुषतर्फ समूह ए मा टीपटप हेल्प नेपाल कोशी प्रदेश र ढोरपाटन क्लब, समूह बि मा नेपाल एपीएफ क्लब, जावलाखेल भलिबल ट्रेनिङ क्लब र सुदूरपश्चिम प्रदेश, समूह सि मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश र बुढानिलकण्ठ भलिबल क्लब तथा समूह डि मा त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, मणिमुकुण्ड भलिबल क्लब र न्युटन भलिबल क्लब रहेका छन्।

प्रतियोगिताको महिला र पुरुष दुवै विजेताले ५ लाख प्राप्त गर्दा उप विजेता हुनेले २ लाख ५० हजार तेस्रो हुने टोलीले १ लाख २५ हजारमा चित्त बुझाउने छन्। यसैगरी, सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले ४०-४० हजार, व्यक्तिगत विधातर्फ उत्कृष्ट सेटर, ब्लकर, सर्भर, स्पाइकर, लिवेरो र प्रशिक्षकले १५-१५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने नेपाल भलिबल संघले जनाएको छ।

Logo