गुजरातलाई हराउँदै नेपालले जित्यो एमएमएस फ्रेन्डसिप कपको उपाधि

गुजरातलाई हराउँदै नेपालले जित्यो एमएमएस फ्रेन्डसिप कपको उपाधि

केन्द्रबिन्दु
168
Shares

नेपालले भारतमा जारी एमएमएस फ्रेन्डसिप कपको उपाधि जितेको छ । आइतबार भएको फाइनल खेलमा नेपालले भारतको स्टेट क्लब गुजरात क्रिकेट एसोसियसनलाई १८ रनले हराउँदै उपाधि उचालेको हो ।

नेपालले जितका लागि दिएको १७७ रनको लक्ष्य पछ्याएको गुजरात निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १५८ रन मात्रै जोड्नसक्यो ।

यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १७६ रन जोडेको थियो । नेपालका लागि कप्तान रोहितले अर्धशतकीय पारी खेले । ४६ बल खेलेका उनले ७४ रन जोडे । कमजोर प्रदर्शन गरेको नेपालको लागि यो इनिङ निकै महत्वपूर्ण रह्यो ।

त्यस्तै, १३ बल खेलेका कुशल मल्लले ३१ रन जोडे । यसअघि ओपनर आसिफ शेख ३४ रनमा आउट भए । अर्का ओपनर कुशल भुर्तेल १९ रनमा आउट भएका थिए ।

नेपालले आगामी टी-२० क्रिकेट विश्वकपको तयारी स्वरूप यो फ्रेन्डसिप कप खेलेको हो । सिरिजको सुरुवाती खेलमा नेपालले गुजरातलाई ८ विकेट र ८ रन तथा बरोडालाई २७ रनले हराएको थियो । अन्तिम खेलमा भने नेपाल बरोडासँग ३७ रनले पराजित भएको थियो । यसअघि नेपालले आफ्नै मैदानमा आयरल्यान्ड वुल्भ्सविरुद्ध दुई टि-२० को सिरिज खेलेको थियो । नेपाल दुवै खेलमा विजयी भएको थियो । भारतबाटै नेपाल ओमानमा अप्रिल १२ देखि २१ सम्म हुने एसीसी प्रिमियर कप खेल्न जाँदै छ ।

Logo