विश्वकपमा लगाउने नेपालकाे जर्सी किन बन्याे आलाेचित ? [भिडियाे]

विश्वकपमा लगाउने नेपालकाे जर्सी किन बन्याे आलाेचित ? [भिडियाे]

केन्द्रबिन्दु
140
Shares

नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सीको डिजाइनको विषयलाई लिएर सामाजिक सञ्जालमा आलोचना सुरु भएको छ ।

आगामी जेठमा अमेरिका र वेस्टइन्डिजमा आयोजना हुने आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको लागि भन्दै सोमबार नेपाल क्रिकेट संघ (क्यान)ले सार्वजनिक गरेको नयाँ जर्सीमा राष्ट्रिय झण्डा झुकाइएको भन्दै त्यसलाई सच्याउन माग हुन थालेको हो ।

युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले आगामी जुन १-२९ सम्म क्रिकेट विश्वकपमा सहभागी हुने राष्ट्रिय टोलीको जर्सी सार्वजनिक गरेका हुन् । नयाँ जर्सीमा रातो, हल्का सेतो र नीलोे रङ्ग मिश्रित गरिएको छ भने दुवै काँधमा नेपालको झण्डा अङ्कित रहेको छ । त्यस्तै जर्सीको तल्लो भागमा सगरमाथा अङ्कित छ भने छातीको एक भागमा प्रयोजकको लोगो र अर्को भागमा क्यानको लोगो रहेको छ । खेलकुद पोसाक कम्पनी केल्मी नेपालले यो जर्सी तयार पारेको हो ।

तर, दुवैतर्फ काँधमा राष्ट्रिय झण्डा उँधो झुकाइएको भन्दै सामाजिक सञ्जालमा आलोचना सुरु भएको हो । उक्त जर्सीमा झण्डा प्रस्ट रूपमा नदेखाई त्यसको छायाँ मात्र प्रयोग गरिएको छ । क्यानले फेसबुक, एक्स लगायतका आफ्ना सामाजिक अकाउन्टमा शेयर गरेका पोस्टमा चर्को आलोचना भएको हो । तर, यस विषयमा क्यानका सचिव एवं राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान समेत रहेका पारस खड्काले पहिला र अहिलेको झण्डामा केही फरक नभएको स्पष्टिकरण दिएका छन् ।

टी–२० विश्वकपमा विभिन्न २० टोलीको सहभागिता रहेको छ । जसलाई समूह ए, बि, सि र डि गरी चार समूहमा विभाजन गरिएको छ । नेपाल भने समूह डि मा रहेको छ । नेपालकोे समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्यान्डस् छन् ।

त्यस्तै समूह ए मा आयोजक अमेरिकासहित भारत, पाकिस्तान, आयरल्यान्ड र क्यानडा छन् भने समूह बी मा इङ्ग्ल्यान्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड र ओमान छन् । त्यस्तै समूह सी मा न्युजिल्यान्ड, वेस्ट इन्डिज, अफगानिस्तान, युगान्डा र पपुवा न्युगिनी छन् । हरेक समूहका शीर्ष दुईमा रहने दुई टोली सुपर आठमा पुग्नेछन् । नेपालले विश्वकपमा दोस्रो पटक सहभागिता जनाउन लागेको हो । यसअघि नेपालले सन् २०१४ मा विश्वकप खेलेको थियो ।

Logo