अन्तर प्रदेश महिला क्रिकेटको उपाधि सुदूरपश्चिमलाई

अन्तर प्रदेश महिला क्रिकेटको उपाधि सुदूरपश्चिमलाई

केन्द्रबिन्दु
42
Shares

भरतपुर (चितवन)। प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ।

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमूना मैदानमा मंगलबार भएको फाइनल खेलमा कोशी प्रदेशलाई पाँच विकेटले पराजित गर्दै सुदूरपश्चिमले उपाधि जितेको हो।

उपाधिसँगै सुदूरपश्चिमले ट्रफी र स्वर्ण पदक प्राप्त गर्यो। उपविजेता कोशी प्रदेशले ट्रफी र रजत पदक प्राप्त गर्यो। विजेताहरुलाई समापन समारोहका प्रमुख अतिथि बागमती प्रदेशका सांसद ईश्वर सापकोटाले पुरस्कार प्रदान गरे।

उक्त प्रतियोगिताको उत्कृष्ट प्रशिक्षक सुदूरपश्चिमकी जानकी भट्ट भएकी छिन् भने उत्कृष्ट बलर कोशी प्रदेशकी अलिशा खदिया र उत्कृष्ट ब्याटर सुदूरपश्चिमकी कप्तान बिन्दु रावल भएकी छिन्।

फाइनलमा कोशीले दिएको ९३ रनको लक्ष्य सुदूरपश्चिमले १९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो। सुदूरपश्चिमको जितमा कप्तान बिन्दु रावलले ३८ रनको महत्वपूर्ण पारी खेलिन्। उनले ४४ बलको सामना गर्दै तीन चौका र एक छक्का प्रहार गरिन्। लक्ष्मी साउदले अविजित १२, सावित्री धामीले १२, कविता कुवँरले ११ र रुबि पोदारले ११ रन बनाएकी हुन्।

बलिङतर्फ कोशी प्रदेशकी रुविना क्षेत्रीले २, सबनम राइ र सङ्गीता राइले समान एक–एक विकेट लिइन्। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा सवै विकेट गुमाएर ९२ रन बनाएको थियो।

उसका लागि अप्सरी बेगमले सर्वाधिक ३२ रनको पारी खेलिन्। उनले २ चौका र एक छक्का प्रहार गरिन्। कप्तान रुविना क्षेत्रीले १७ रन बनाइन्। बलिङतर्फ सुदूरपश्चिमकी कविता जोशीले तीन तथा रितु कनौजिया र स्नेहा महराले समान २–२ विकेट लिइन्।

कविता प्लेयर अफ दि म्याच भइन्। खेलकुद विकास परिषद् बागमतीको आयोजनामा प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट प्रतियोगिता बुधबारदेखि सुरु हुँदैछ।

Logo