आईपीएलमा सनराइजर्स हैदरावादको रोमाञ्चक जित

आईपीएलमा सनराइजर्स हैदरावादको रोमाञ्चक जित

केन्द्रबिन्दु
98
Shares

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादले २ रनको रोमाञ्चक जित दर्ता गरेको छ। मुल्लानपुरको नयाँ क्रिकेट स्टेडियममा घरेलु टोली पञ्जाब (पञ्जाब किंग्स)का कप्तान शिखर धवनले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए।

पहिले ब्याटिङ गरेको सनराइजर्स हैदरावादले पन्जाबलाई १८३ रनको चुनौतीपूर्ण लक्ष्य दिएको थियो। जवाफमा पन्जाबको टोलीले १८० रन बनाउन सफल भयो र खेल २ रनले पराजित भयो।

पहिले ब्याटिङ गर्न आएका हैदरावादका ओपनर ट्राभिस हेड र अभिषेक शर्माले मिलेर ३.२ ओभरमा २७ रन जोडे तर अर्शदीप सिंहले २१ रनमा हेडलाई पहिलो र ३ नम्बरमा ब्याटिङ गर्न आएका एडेन मार्करामलाई शून्यमा पभेलियन पठाए। त्यसलगत्तै अभिषेक शर्मा पनि १६ रनमा आउट भए र पाहुना टोलीले पावरप्लेमा ३ विकेट गुमाएको थियो।

मध्यक्रममा नितिश रेड्डीले ६४ रनको पारि खेल्दा राहुल त्रिपाठी ११ रनमा आउट भए। यस्तै अब्दुल समदले २५ रन जोड्दा सहवाज अहमदले नटआउट १४ रन जोडे। पञ्जाबका लागि अर्शदीप सिंहले सर्वाधिक ४ विकेट लिए।

लक्ष्य पछ्याउने क्रममा पञ्जाबका ब्याट्सम्यानको सुरुवात खराब रह्यो। जोनी बेयरस्टो, प्रभसिमरन सिंह र शिखर धवन २० रनको स्कोरमा प्याभिलियन फर्किए। साम कुरान (२९ रन) र सिकन्दर रजा २८ रनले छोटो पारी खेले पनि दुवै ब्याट्सम्यानले ठूलो पारी खेल्न सकेनन्। उपकप्तान जितेश शर्माले १९ रन बनाएर फेरि फ्लप भए।

गत खेलका नायक शशांक सिंह र आशुतोष शर्माले फेरि एकपटक खेलमा आफ्नो फर्मलाई कायमै राखे। दुवै ब्याट्सम्यानले मिलेर ६६ रन जोडेपनि उनीहरुको टोली लक्ष्य प्राप्त गर्न २ रन टाढा रह्यो। शशांक सिंहले २५ बलमा ४६ रन र आशुतोष शर्माले १५ बलमा ३३ रनको तूफानी पारि खेले।

अन्तिम ओभरमा २९ रन आवश्यक थियो तर पञ्जाबका ब्याट्सम्यानले ३ छक्का प्रहार गर्दै २६ रन बनाउन सकेका थिए। हैदरावादका भुवनेश्वर कुमारले सर्वाधिक २ विकेट लिए। आइपीएलमा आज राति राजस्थान रोयल्स् र गुजरात टाइटन्स भिड्ने छन्।

Logo