आइपीएलमा दिल्ली क्यापिटल्सकाे दोस्रो जित

आइपीएलमा दिल्ली क्यापिटल्सकाे दोस्रो जित

केन्द्रबिन्दु
42
Shares

काठमाडौं। इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले दोस्रो जित निकालेको छ। शुक्रबार राति भएको खेलमा दिल्लीले लखनऊ सुपर जायन्ट्सलाई ६ विकेटको फराकिलो अन्तरले पराजित गरेको हो।

पहिला ब्याटिङ गर्दै लखनऊले निर्धारित ओभरमा ७ विकेट गुमाएर १६७ रन बनाएको थियो। जवाफमा दिल्लीले १८.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो।

दिल्लीको जितमा जेक फ्रासिर म्याग्रुकले ५५ रनको अर्धशतकीय पारि खेल्दा कप्तान ऋषभ पन्तले ४१ रन बनाए। यसैगरी पृथ्वी साले ३२ रन बनाउँदा तृष्टन स्टुवसले १५ तथा साइ होपले १० रनको नटआउट पारि खेल्दै जित पक्का गरे।

लखनऊका रवि विश्नोइले २ विकेट लिँदा नभिन उल हक र एस ठाकुरले एक– एक विकेट लिए। टस जितेर पहिला ब्याटिङ गरेको लखनऊको सुरुआत मध्यम रहेको थियो भने मिडिल अर्डर पुरै फ्लप भयो।

क्वीन्टन डी कक १९ रन बनाएर आउट भए। कप्तान केएल राहुलले ३९ रन बनाएका थिए। राहुल ७७ रन हुँदा पाँचौं विकेटको रुपमा आउट भएका थिए। उनी अघि देवदत्त पडिकल ३, मार्कस स्टोनिस ८, निकोलस पुरन ० रनमा आउट भएका थिए।

राहुल पछि दीपक होड्डा १० रन बनाएर आउट हुँदा क्रुनाल पाण्ड्या ३ रनमा अउट हुँदा लखनऊले सातौं विकेट ९४ रनमा गुमाएको थियो। एक छेउँमा टिकेका आयुस बडोनीले नटआउट ५५ रनको पारि खेल्दा उनलाई अर्सद खानले २० रनको नटआउट पारि खेल्दा लखनऊले निर्धारित ओभरमा ७ विकेट गुमाएर १६७ रन बनायो।

दिल्लीका कुलदीप यादवले तीन विकेट लिँदा खलिल अहमदले दुई विकेट लिए। दोस्रो जितसँग दिल्ली तालिकाको नवौं स्थानमा छ भने पराजित भएको लखनऊ ६ अंकसहित चौथो स्थानमा रहेको छ।

Logo