एपीएफलाई पराजित गर्दै पुलिस फाइनलमा

एपीएफलाई पराजित गर्दै पुलिस फाइनलमा

केन्द्रबिन्दु
42
Shares

सिमरा। एपीएफविरुद्ध जित निकाल्दै नेपाल पुलिस क्लब जितपुर सिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। एपीएफविरुद्ध पुलिस क्लबले ३–२ को जित निकाल्दै फाइनलमा प्रवेश गरेको हाे।

शनिबार राति सिमरा रंगशालामा भएको खेलमा पुलिसले सुरुवाती अग्रता बनाएको थियो। खेलको पहिलो मिनटमै एपीएफविरुद्ध पुलिसका आशिष राइले गोल गरेका थिए। उज्वल राइको क्रसमा पेनाल्टी बक्स भित्रबाट आशिष राईको प्रहार गोलमा परिणत भएको थियो।

खेलको २० औं मिनटमा एपीएफ २–० ले पछि पर्यो। रामचन्द्र वाजेको गोल मार्फत पुलिसले एपीएफविरुद्ध अग्रता फराकिलो बनाएको थियो। उज्वल राईको क्रस बल सम्हाल्दै रामचन्द्र वाजेले पेनाल्टी बक्स भित्रबाट उत्कृष्ट गोल गरेका थिए।

महत्वपूर्ण खेलमा २–० ले पछि परे पनि एपीएफका खेलाडी उच्च मनोबलका साथ मैदानमा देखिन्थे। निकै आकर्षक खेल प्रस्तुत गरेको एपीएफका लागि खेलको ४२ औं मिनटमा प्रदिप लामाले गोल गर्दै २–१ को स्थितिमा ल्याए। बुद्धिमान राईको पासलाई पेनाल्टी बक्समा सम्हाल्दै प्रदिपले गोल गरेका थिए।

खेलको ६१ औं मिनटमा युवराज खड्काको गोल मार्फत एपीएफ खेलमा फर्कियो। प्रशिक्षक सुमन श्रेष्ठले युवराजलाई खेलको ३१ औं मिनटमा महेश लामाको स्थानमा मैदान प्रवेश गराएका थिए। युवराजले अनिश महर्जनको पासमा वन भर्सेस वनको स्थितीको सदुपयोग गर्दै एपीएफलाई खेलमा फर्काएका थिए।

२–० ले पछि परेको अवस्थामा खेलमा फर्कन सफल भएको एपीएफविरुद्ध पुलिसका सुजन मगरले पुनः अग्रता दिलाउन सफल भए। खेलको ८८ औं मिनटमा सुजनले एपीएफका गोलरक्षक बिट गर्दै गोल गर्न सफल भए।

पृथ्बी चौधरीको पासमा सुजनको पहिलो प्रहार एपीएफका गोलरक्षक एन्जल श्रेष्ठले बचाउको प्रयास गरेका थिए तर रिबाउण्ड बल खोस्दै सुजनले सुन्दर गोल गरे। खेलको अन्तिम इन्जुरी समयमा एपीएफ १० खेलाडीमा सीमित भयो।

अन्तिम समयमा ३–२ को अवस्थामा परेपछि दबाबमा देखिएको एपीएफका विश्वास उदासले पुलिसका खेलाडीसंग विवाद गर्न थालेपछि रेफ्री उमेश विंडारीले उनलाई रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए।

दोश्रो पटक जितपुर सिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको पुलिसले अब उपाधिका लागि अर्को ‘ए’ डिभीजन क्लब मच्छिन्द्रसंग सोमबार प्रतिष्पर्धा गर्नेछ। पुलिस ९ बर्ष अघि प्रतियोगिताको छैठौं संस्करणको फाइनलमा अर्को विभागीय टोली आर्मीसंग पराजित भएको थियो।

खेलको म्यान अफ दि म्याच पुलिसका रामचन्द्र वाजे घोषित भए। उनले शुभारम्भ कलेज सिमराले प्रायोजन गरेको १० हजार नगद र ट्रफी प्राप्त गरे।

Logo