हङकङलाई हराउँदै नेपाल एसिसी प्रिमियर कपको सेमिफाइनलमा [भिडियाे]

हङकङलाई हराउँदै नेपाल एसिसी प्रिमियर कपको सेमिफाइनलमा [भिडियाे]

केन्द्रबिन्दु
84
Shares

नेपालले एसिसी पुरुष प्रिमियर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गरेको छ । सोमबार नेपालले हङकङमाथि ८ विकेटको सानदार जित निकालेको हो ।

योसँगै नेपाल एक खेलअगावै समूह ‘ए’ बाट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।  यसअघि खेलेका दुवै खेलमा नेपाल विजयी भएको थियो । नेपालले पहिलो खेलमा मलेसियालाई पाँच विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो ।

आज ओमानको अल इमिरेट्स क्रिकेट मैदानमा हङकङले जितका लागि दिएको ११५ रनको सामान्य लक्ष्य नेपालले १२.२ ओभरमा मात्र २ विकेटको क्षतिमा पूरा गर्न सफल भयो । नेपालको जवाफी ब्याटिङको सुरुवात एकदमै उत्कृष्ट रह्यो । नेपालले खेलको पहिलो पावर प्लेमा एक विकेटको क्षतिमा ७२ रन जोडेको थियो । ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले सानदार सुरुवात दिलाए । भुर्तेलले १९ बलमै ३२ रन जोडेर आउट भए । आशिफ शेखले १८ बलमा ४० रन जोडे । योसँगै आशिफले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रनको कोशेढुंगा पूरा गरेका छन् । सो क्रममा २२ वर्षीय आसिफ शेखले टी–२० अन्तर्राष्ट्रियमा पाँचवटा अर्धशतक पनि प्रहार गरेका छन् ।

त्यसपछि क्रिज समहाल्न आएका कप्तान रोहित पौडेल २५ रन र सन्दीप जोरा १९ रनमा नटआउट रहे ।

बलिङमा हङकङका यासिम मुर्तजा र एहसान खानले १/१ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले १७.५ ओभरमा अलआउट हुँदै ११४ रन जोडेको थियाे । वर्षाले प्रभावित भएपछि नेपाल र हङकङबीचको निर्धारित २० ओभरको खेललाई १८ ओभरमा घटाइएको थियाे । हङकङका लागि ओपनर अंशु राठले सर्वाधिक ३४ रन जोडे । साथै जिसान अलिले १४ रन, कप्तान निकाज खानले १२ रन तथा इशान खानले ११ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो रन छुन सकेनन् ।

बलिङमा नेपालका अविनास बोहराले ३ विकेट लिए । साथै ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले समाान २/२ विकेट लिए । त्यस्तै करण केसीले एक विकेट झारे ।

Logo