नेपालको ‘सुपर ८’मा पुग्ने सम्भावना जिवितै, तर यी टोलीको नतिजामा भर पर्नुपर्छ[भिडियासहित]

नेपालको ‘सुपर ८’मा पुग्ने सम्भावना जिवितै, तर यी टोलीको नतिजामा भर पर्नुपर्छ[भिडियासहित]

केन्द्रबिन्दु
70
Shares

काठमाडाैं । नवौँ संस्करणको टी–२० विश्वकपअन्तर्गत बुधबार हुने भनिएको नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएपछि दुबै टोलीले १–१ अंक बाँडेका छन् । तीन खेल खेलेर १ अंक मात्र जोडेको श्रीलंकन टोली समुह चरणबाटै बाहिरिसकेको छ भने नेपाल एक खेलमा हार र अर्को खेलमा अंक बाडेका कारण सुपर ८ को सम्भावनालाई जिवितै रहेको छ । बुधबारको खेलपछि श्रीलंकाको सुपर आठको सम्भावना समाप्त भएको हो ।

यता तीनै खेल जितेको दक्षिण अफ्रिाकाले भने एक खेल अगावै सुपर ८ को स्थान पक्का गरिसकेको छ । अब यो समूहबाट थप एक टिम सुपर ८ मा जानेछ । त्यसका लागि नेपाल, नेदरल्यान्ड्स र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । नेदरल्यान्ड्सको दुई खेलमा एक जित एक हारसहित २ अंक छ भने बंगलादेशको अवस्था पनि यही हो । नेपालको भने एक अंक मात्र छ ।

विश्वकपमा अब नेपालले दुई खेल खेल्न बाँकी छ । दुवै खेल वेष्ट इन्डिजमा हुँदैछ । नेपालले १५ जूनमा ट्रिनिडाड एन्ड टोबागोस्थित ब्रायन लारा क्रिकेट स्टेडियमा नेपाली समयअनुसार बिहान सवा ५ बजे दक्षिण अफ्रिकासँग खेल्नेछ । दक्षिण अफ्रिका प्रतियोगिताकै उपाधि दाबेदारमध्ये बलियो टिम हो । तर, अमेरिकामा भएका खेलमा उसले जित हात पारे पनि खेल निकै क्लोज इन्कान्टरमा जितेको थियो । त्यसैले ट्रिनिडाड एन्ड टोबागोको स्पीनर मैत्री पिचमा नेपालले दक्षिण अफ्रिकालाई अपसेट गर्न सक्छ । यदि त्यस्तो भयो भने नेपालको सुपर ८ सम्भावना बलियो हुनेछ । तर हार व्यहोरेमा नेपालको सम्भावना सकिनेछ । यस्तै नेपालले समूह चरणको अन्तिम खेल १७ जूनमा बंगलादेशविरुद्ध किंग्स्टनमा खेल्नेछ । बंगलादेशको प्रदर्शन जारी प्रतियोगितामा निकै उतारचढाव पूर्ण छ । त्यसैले नेपालले बंगलादेशसँग कसरी खेल्छ नतिजा त्यसैमा भरपर्छ ।

हुन त केहीले नेपालले दक्षिण अफ्रिकालाई जितेको अवस्थामा बंगलादेशसँगको खेल वर्षाले रद्द भए पनि नेपाल सुपर ८ पुग्न सक्ने दावी गरिरहेका छन्। तर, यो निकै चमत्कारपूर्ण अवस्था हो किनकि यसको लागि बंगलादेशले नेदरल्याण्डसँग ठूलो अन्तरले हार्नुपर्छ । र, त्यो अवस्थामा नेदरल्याण्डकै नेट रनरेट उच्च हुनेछ र नेदरल्याण्ड आफैं नेपालभन्दा माथि हुनसक्छ। यसबाहेक नेपालले आफ्नो नेट रनरेट बंगलादेशको भन्दा माथि लैजान दक्षिण अफ्रिकालाई पनि निकै ठूलो अन्तरले हराउनुपर्नेछ। यतिले मात्रै नेपालको नेट रनरेट नेदरल्याण्डको भन्दा माथि पुग्दैन। यसको लागि अर्को प्रमुख शर्त नेदरल्याण्डले श्रीलंकासँग ठूलो अन्तरले हार्नुपर्नेछ ताकि उसको नेट रनरेट माइनसमा पुगोस्। यी सबै अवस्थाहरु नेपालले चाहेजस्तै हुनु सम्भव देखिँदैन। नेदरल्यान्ड्सको प्रदर्शन उच्चस्तरीय रहेकाले उसको पनि सुपर ८ को सम्भावना निकै बलियो छ । यस्तोमा नेपाल सुपर ८ पुग्ने सबैभन्दा विश्वासिलो बाटो भनेको दुवै खेल जित्नु हो।

प्रतियोगितामा निराशाजनक प्रदर्शन गरिरहेको श्रीलंकासँगको नेपालको बुधबारको खेल भएको भए नेपालले जित्न सक्ने सम्भावना रहन्थ्यो । त्यति मात्र नभई श्रीलंकासँगको खेल नेपालका लागि अनुभव बटुल्नका लागि पनि महत्वपूर्ण हुने थियो । त्यसैले बुधबारको खेल रद्द हुँदा नेपाललाई फाइदाभन्दा घाटा धेरै भएको छ । त्यसमाथि हजारौं दर्शक मैदानमा पुगेर निराश भएर फर्किएका छन् । काठमाडौंमा पनि दर्शकहरू खेल हेर्न महानगरले व्यवस्था गरेका स्थानमा पुगेका थिए । तर, खेल नभएपछि उनीहरू पनि निराश भएर फर्किएका थिए ।

Logo