युरो कप: स्पेनलाई क्रोएसियामाथि सहज जित, इटालीसँग अल्बानिया पराजित

युरो कप: स्पेनलाई क्रोएसियामाथि सहज जित, इटालीसँग अल्बानिया पराजित

केन्द्रबिन्दु
154
Shares

काठमाडौं । युरो कप फुटबलमा स्पेनले क्रोएसियामाथि सहज जित निकालेको छ। जर्मनीमा जारी प्रतियोगिता अन्तर्गत समूह बीको पहिलो खेलमा स्पेनले क्रोएसियालाई ३–० गोल अन्तरले पराजित गरेको हो।

शनिबार राति भएको खेलमा स्पेनलाई जिताउन अल्भारो मोराटा, फवियन रुइज र डानी कार्भाजलले एक–एक गोल गरेका थिए।

२९ औं मिनेटमा मोराटाले फाबियनको पासमा गोल गर्दै स्पेनलाई अग्रता दिलाए। ३२ औं मिनेटमा पेड्रिको पासमा फाबियनले गोल गरेपछि स्पेनको अग्रता दोब्बर भएको थियो। पहिलो हाफको अतिरिक्त दोस्रो मिनेटमा डानी कार्भाजलले लामिने यामलको पासमा गोल गरेपछि ३–० को सहज अवस्थामा स्पेन पुगेको थियो।

दोस्रो हाफमा दुवै टिमबाट थप गोल नभएपछि अन्ततः स्पेनले ३–० को सहज जित दर्ता गर्न सफल भयो। जितसँगै समूह बीमा ३ अंक जोडेको स्पेन शीर्ष स्थानमा छ।

यही समूहमा रहेको डिफेन्डिङ च्याम्पियन इटालीले पनि विजयी सुरुआत गरेको छ। युरोमा डेब्यु गरेको अल्बानियालाई इटालीले २–१ गोल अन्तरले पराजित गरेको हो। खेल सुरु भएको पहिलो मिनेटमै अल्बानियाले अग्रता लिएर सनसनी मच्चाएको थियो। अल्बानियाका नेदिम बज्रामीले गोल गर्दै अग्रता दिलाएका थिए।

तर, ११ औं मिनेटमा इटालीले बराबरी गर्दै आफूलाई खेलमा फर्कायो। इटालीका लागि एलेजान्द्रो बास्टोनीले लोरेन्जो पेलिग्रिनीको पासमा गोल गर्दै बराबरी गरेका थिए। १६ औं मिनेटमा निकोलो बरेलाले गोल गरेपछि इटाली २–१ ले अघि बढेको थियो। सोही अग्रता अन्तिमसम्म जोगाउँदै इटालीले ३ अंक जोड्न सफल भयो। इटाली समूह बीमा दोस्रो स्थानमा छ।

समूह एको अर्को खेलमा स्वीट्जरल्याण्डले हंगेरीलाई ३–१ गोल अन्तरले पराजित गरेको थियो।

युरो कप अन्तर्गत आइतबार पनि तीन वटा खेल हुने छन्। समूह डीको पोल्याण्ड र नेदरल्याण्डले नेपाली समय अनुसार राति पौने ७ बजे खेल्ने छन्। त्यसैगरी समूह सीका स्लोभाकिया र डेनमार्कले पौने १० बजे खेल्दा राति पौने १ बजे यही समूहका सर्विया र इंग्ल्याण्ड आमने सामने हुने छन्।

Logo