विश्वकप खेलिरहेका नेपाली क्रिकेट खेलाडीलाई जनही १३ लाख

विश्वकप खेलिरहेका नेपाली क्रिकेट खेलाडीलाई जनही १३ लाख

केन्द्रबिन्दु
210
Shares

सरकारले अमेरिका र वेष्टइण्डिजमा आसीसी टी-२० विश्वकप खलिरहेको नेपाली राष्ट्रिय क्रिकेट खेलाडीलाई जनही १३ लाख प्रदान गरेको छ ।

विश्वकपका लागि छनोट हुन सफल भएको भन्दै युवा तथा खेलकुद मन्त्रालयमा आइतबार आयोजित एक कार्यक्रममा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले क्यानका सचिव पारस खड्कालाई १५ खेलाडीसहित प्रशिक्षक, टीम व्यवस्थापन, सहायक प्रशिक्षक र फिजियोका लागि नगद २ करोड ९७ लाख १० हजार रुपैयाँ प्रदान गरेका हुन् ।

विश्वकप खलिरहेका १५ जना खेलाडीले जनही १३ लाख रुपैयाँ पाउँदा टीम व्यवस्थापक सुमनराज कार्कीलाई १ लाख ९५ हजार, मुख्य प्रशिक्षक मोन्टी देसाईलाई ३ लाख ९० हजार, सहायक प्रशिक्षक वसन्त शाही र फिजियो विक्रम न्यौपानेलाई समान १ लाख ९५ हजार प्रदान गरिएको छ । नेपाली टोली विश्वकपमा छनोट भएसँगै सरकारले राष्ट्रिय क्रिकेट टीमलाई नगद पुरस्कार दिने घोषणा गरेको थियो । तर, अहिले प्रदान गरेको हो ।

विश्वकप क्रिकेट २०२४ अन्तर्गत समूह डी को आफ्नो अन्तिम खेलमा नेपालले भोलि बङ्गलादेशको सामना गर्दैछ । वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाले रङ्गशालामा हुने उक्त खेल नेपाली समयअनुसार बिहान ५ः१५ बजेदेखि सुरु हुनेछ । अन्तिम आठमा स्थान बनाउने प्रतिस्पर्धाबाट बाहिरिसकेको नेपालका लागि उक्त खेल प्रतिष्ठाका लागि मात्र हुनेछ । तर बङ्गलादेशका लागि भने निकै महत्वपूर्ण मानिएको छ । समूह डि बाट दक्षिण अफ्रिका आठ अङ्कका साथ शीर्ष स्थानमा रहँदै विश्वकपको दोस्रो चरणमा प्रवेश गरिसकेको छ । अब समूह डि बाट सुपर आठमा पुग्ने दोस्रो टोलीको टुङ्गो लाग्न बाँकी छ । नेपाललाई पराजित गरेमा बङ्गलादेश समूहको दोस्रो स्थानमा रहँदै अन्तिम आठमा प्रवेश गर्नेछ । अङ्क तालिकामा बङ्गलादेशको चार अङ्क छ ।

विश्वकपमा एक अङ्क बटुलेको श्रीलङ्का भने प्रतियोगिताबाट बाहिरिसकेको छ । नेदरल्यान्ड्सको सम्भावना भने कायमै छ । नेदरल्यान्ड्स दुई अङ्कका साथ अङ्क तालिकाको तेस्रो स्थानमा छ । नेदरल्यान्ड्स र श्रीलङ्काबीचको खेल पनि भोलि नै हुनेछ ।

भोलिको खेलमा नेपाललाई बङ्गलादेशविरुद्ध दश वर्षअघि भोगेको हारको बदला लिने सुनौलो अवसर छ । नेपालले सन् २०१४ मा पहिलोपटक विश्वकपमा सहभागिता जनाउँदा बङ्गलादेशसँग पराजित हँदै प्रतियोगिताबाट बाहिरिएको थियो । विश्वकपमा नेपालले यसअघि खेलेको तीन खेलमा दुई खेलमा हार तथा एक खेल बराबरी खेलेको थियो । नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग पराजित भएको थियो । श्रीलङ्काविरुद्धको दोस्रो खेल वर्षाका कारण रद्द भएपछि दुवै टोलीले समान एक एक अङ्क बाँडेका थिए । त्यस्तै दक्षिण अफ्रिकाविरुद्धको तेस्रो खेलमा नेपाल एक रनले पराजित भएको थियो । यसका लागि नेपाल भने जित्दा जित्दै दक्षिण अफ्रिकाविरुद्ध हारेको पीडा भुलेर मैदान उत्रिनुपर्नेछ ।

Logo