नेपालले बंगलादेशविरुद्ध लेला त १० वर्षअघिको हारको बदला ? [भिडियाेसहित]

नेपालले बंगलादेशविरुद्ध लेला त १० वर्षअघिको हारको बदला ? [भिडियाेसहित]

केन्द्रबिन्दु
84
Shares

नेपालले सोमबार बिहानै सवा पाँच बजे टी–२० विश्वकपअन्तर्गत अन्तिम खेल खेल्दै छ । एक दशकपछि दोस्रो पटक विश्वकप खेलिरहेको नेपालले आफ्नो समूहको अन्तिम खेलमा बंगलादेशको सामना गर्न लागेको हो । जारी प्रतियोगिताबाट बाहिरिसकेको नेपाली टोलीले सोमबार बंगलादेशलाई हराउँदै विश्वकपबाट सुखद विदाई लिन चाहन्छ ।

अर्कोतर्फ बंगलादेश भने नेपाललाई कुनै पनि हातलमा हराएर सुपर ८ मा स्थान बनाएर सन् २०२६ मा हुने विश्वकपमा सिधैं स्थान सुरक्षित गर्न चाहन्छ ।

तर नेपाली टोलीले पछिल्लो खेलमा प्रतियोगिताकै उपाधि दावेदार दक्षिण अफ्रिकासँग निकै प्रतिस्पर्धात्मक हार ब्यहोरेकाले बंगलादेशविरुद्ध खेल्नुअघि नेपाली टोलीको मनोबल उच्च रहेको छ । सन् २०१४ मा पारस खड्काको नेतृत्वमा पहिलो पटक विश्वकप खेलेको नेपाली टोलीले उक्त विश्वकपमा अफ्गानिस्तान र हंगकंगलाई हराए पनि बंगलादेशसँग ८ विकेटले हारेको थियो ।

नेपालले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १२६ रन जोडेको थियो । त्यस खेलमा पारस खड्काले ४१ र शरद भेषावकरले ४० रन बनाएका थिए । बंगलादेशले १५.३ ओभरमा २ विकेट गुमाएर लक्ष्य भेट्टाएको थियो । अंक बराबरी भएपनि नेट रन रेटमा नेपालभन्दा अगाडि रहँदै बंगलादेश ‘सुपर टेन’ चरणमा पुग्न सफल भएको थियो । त्यतिबेलाका सकिब अल हसन अहिले पनि बंगलादेशी टोलीमा छन् । त्यस्तै, नेपालका पनि एकमात्र खेलाडी सोमपाल कामी टोलीमा छन् । त्यसैले सोमबार हुने खेल नेपालका लागि बंगलादेशसँग १० वर्षअघि भोगेको नमिठो हारको बदला लिने गतिलो अवसर हो । साथै जारी विश्वकपमा एक टेष्ट राष्ट्रलाई हराउने उद्देश्यसहित वेष्ट इन्डिज उडेको नेपाली टोलीले बंगलादेशलाई हराउन कुनै कसर राख्ने छैन ।

सोमबारको खेलमा नेपाली टोलीलाई गुमाउन केही बाँकी नरहेकाले आफ्नो वास्तविक खेल खेल्दै प्रतियोगितामा पहिलो जित हात पार्ने दाउमा छ । अर्कोतर्फ नेपाललाई कुनै पनि हालतमा हराउन पर्ने अवस्थामा रहेको बंगलादेश नेपालविरुद्ध ‘गर की मर’को अवस्थामा छ । यदि सोमबारको खेल बंगलादेशले जित्न नसकेको खण्डमा सुपर ८ को सम्भावना बोकिरहेको अर्को टोली नेदरल्याड्स श्रीलंकालाई हराउँदै दोस्रो चरण पुग्न सक्छ ।

दक्षिण अफ्रिकाविरुद्ध खेलेको मैदान अर्थात किङ्सटाउनस्थित आर्नोस भेल स्टेडियममा आफ्नो अन्तिम खेल खेलिरहेको नेपाली टोली बंगलादेशविरुद्ध पनि दक्षिण अफ्रिकाविरुद्ध जस्तै प्रदर्शन गर्ने लक्ष्यका साथ मैदानमा उत्रने छ । तर, हारको होइन जितको प्रदर्शन ।

जारी प्रतियोगितामा श्रीलंकाविरुद्ध २ विकेट र नेदरल्याण्ड्सविरुद्ध २५ रनले विजयी बंगलादेश प्रतियोगिताको दोस्रो चरण पुग्न हरसम्भव प्रयासरत बंगलादेश र प्रतियोगिताबाटै बाहिरिसकेको नेपाल बीचको खेलका क्रममा पानी पर्ने निकै सम्भावना देखिएको छ । यदि पानी परेर खेल रद्द भएको खण्डमा अर्कोतर्फ नेदरल्याड्सले जितेको खण्डमा पनि बंगलादेश पाँच अंकका साथ सिधैं सुपर ८ मा प्रवेश गर्नेछ । किनकी बंगलादेशसँग २ खेलबाट ४ अंक पहिल्यै छ । अर्कोतर्फ बंगलादेश र दक्षिण अफ्रिकाविरुद्ध हार र नेपालविरुद्ध जित निकालेको नेदरल्याड्ससँग २ अंकमात्रै छ । सोही कारण सोमबारको खेलमा नेदरल्याण्ड्सलाई सुपर ८ मा जान श्रीलंकालाई हराउनुका साथै नेपालसँग बंगलादेश पनि हार्नुपर्ने हुन्छ ।

किङ्सटाउनस्थित आर्नोस भेल स्टेडियम विशेषगरी स्पिन बलरहरुका लागि सबैभन्दा राम्रो पिच रहेको पछिल्लो खेलबाटै प्रष्ट भइसकेको छ । तसर्थ सोमबारको खेलमा सन्दीप लामिछानेले बंगलादेशविरुद्ध उत्कृष्ट प्रदर्शन गर्न सक्ने आंकलन गर्न सकिन्छ । अर्कोतर्फ ओपनर आसिफ शेख पनि फर्ममा आइसकेकाले नेपाली टोलीले बंगलादेशविरुद्ध जित हात पार्न सक्ने विश्वास गर्न सकिन्छ । यसो भनिरहदा दक्षिण अफ्रिकाविरुद्ध निरन्तर विकेट गुमाउने नेपाली टोलीको खराब बानीलाई सुधार्न पर्ने देखिन्छ । बलिङ, ब्याटिङका साथैं फिल्डिङमा पनि नेपाली टोलीले बंगलादेशविरुद्ध सुधार गर्नुपर्ने पक्षहरु हुन् । समुहचरणमा एक खेल मात्रै हारेको बंगलादेश नेपाललाई सजिलो प्रतिद्धन्द्धी आक्ने भुल पक्कै गर्ने छैन । अर्कोतर्फ नेपाल पनि दक्षिण अफ्रिकाविरुद्धको हार बिर्सदै बंगलादेशविरुद्ध जित हात पार्दै नेपाली दर्शकलाई उपहार दिन चाहन्छ । तर यो कार्य भने र सोचे जस्तो सजिलो नभएकाले दुवै टोलीले सोमबार आफ्नो तर्फबाट शतप्रतिशत दिन सकेको खण्डमा मात्रै जित निकाल्न सक्ने सम्भावना देखिन्छ ।

Logo