मोरङ र ओखलढुङ्गा फाइनलमा

मोरङ र ओखलढुङ्गा फाइनलमा

केन्द्रबिन्दु
70
Shares

तेह्रथुम । ओखलढुङ्गा र मोरङ म्याङलुङमा जारी कोशी प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। सो प्रतियोगिताको अन्तिम खेल शनिबार हुने भएको छ।

असार ३ गतेबाट सुरु भएको प्रतियोगितामा कोशी प्रदेशका अन्य १२ जिल्लालाई पछि पार्दै मोरङ र ओखलढुङ्गा फाइनलमा पुगेको हो। जिल्ला खेलकुद विकास समिति तेह्रथुमले आज आयोजना गरेको पत्रकार सम्मेलनमा ओखलढु्ङ्गाका फुटबल प्रशिक्षक सुमन गुरुङले आफ्नो टिम विजयी हुने विश्वास व्यक्त गरे।

“कुनै पनि क्लबमा आबद्ध नभइ गाउँमै खेलेको हाम्रो टिम प्रदेशस्तरको प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। जित्ने कुरामा हामी ढुक्क छौँ”, उनले भने। ओखलढुङ्गा र झापाबीच बिहीबार भएको सेमिफाइनल खेलमा एक/एक गोलको बराबरी भएपछि ट्राइबेकरमा ओखलढुङ्गाले झापालाई शून्यका विरुद्ध तीन गोल गर्दै फाइनलमा प्रवेश गरेको हो।

मोरङ जिल्ला खेलकुद विकास समितिका प्रशिक्षक प्रकाश मल्ललेसमेत शनिबार हुने फाइनलमा सफलता हासिल गर्न अत्यन्त मेहनत र अनुशासित भएर खेल्ने तयारी रहेको बताए। प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजना, जिल्ला खेलकुद विकास समिति तेह्रथुमको संयोजन र कोशी प्रदेश फुटबल सङ्घको प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन भएको हो।

बोर्डले रु २० लाख र खेलाडीहरुका लागि आवास, खाजाको लागि म्याङलुङ नगरपालिकाले रु १० लाख प्रदान गरेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजेन्द्र बरालले बताए।

प्रतियोगिताको प्रथम पुरस्कार नगद रु तीन लाख ३३ हजार , दोस्रो पुरस्कार रु दुई लाख २२ हजार ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ।

Logo