अस्ट्रेलियाको भाग्य भारतको हातमा [भिडियाेसहित]

अस्ट्रेलियाको भाग्य भारतको हातमा [भिडियाेसहित]

केन्द्रबिन्दु
252
Shares

आज बेलुकी सवा आठ बजे टी–२० विश्वकपकै सबैभन्दा प्रतिष्ठित खेल अर्थात् भारत र अस्ट्रेलियाविरुद्ध महा–भिडन्त हुँदै छ । टी–२० विश्वकपको फाइनल खेलका रुपमा हेरिएको भारत र अस्ट्रेलियाबीचको महा–भिडन्तमा विजेता हुने टोली सिधैं प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछ भने हार्ने टोली प्रतियोगिताबाटै बाहिरिने सम्भावना उच्च छ।

आइतबार अफगानिस्तानविरुद्ध हार ब्यहोरेको अस्ट्रेलिया भारतविरुद्ध खेल्नुअघि खराब प्रदर्शनका कारण चिन्तामा छ भने अर्कोतर्फ प्रतियोगिताभर एक खेलमा पनि हार नब्यहोरेको भारत उच्च मनोबलका साथ अस्ट्रेलियालाई हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित पार्न चाहन्छ ।

अस्ट्रेलिया र भारतले हालसम्म ३१ वटा टी–२० खेल खेलेका छन् । जसमध्ये १९ खेल भारतले र ११ खेल अस्ट्रेलियाले जितेको छ । एक खेल भने नतिजाविहिन भएको थियो । पछिल्लो पटक यी दुई राष्ट्रले खेलेका ६ खेलमध्ये सबै खेल भारतले नै जितेको छ । सन् २००७ को पहिलो संस्करण जितेको भारत त्यसयता १७ वर्षसम्म उपाधिविहिन छ । सन् २०१४ मा फाइनल पुगे पनि श्रीलंकाविरुद्ध ६ विकेटले पराजित हुँदै उपविजेतामा सिमित भएको थियो ।

यस्तै, अर्कोतर्फ अस्ट्रेलियाले सन् २०२१ मा विश्वकप जितेको थियो । त्यसयता वान डे क्रिकेटमा एकछत्र राज गरे पनि टी–२० क्रिकेटमा भने अस्ट्रेलियाले खासै राम्रो प्रदर्शन गर्न सकेको छैन ।

अस्ट्रेलियाले भारतलाई र अफगानिस्तानले बंगलादेशलाई हराए के हुन्छ ?

यदि अस्ट्रेलियाले भारतलाई हराएर अफगानिस्तानले बंगलादेशलाई हराए दुबै टोलीसँग ४–४ अंक हुनेछ । यस्तोमा नेटरनरेटका आधारमा सेमिफाइनल प्रवेश गर्ने टोलीको छिनोफानो हुनेछ ।

भारतले अस्ट्रेलियालाई र बंगलादेशले अफगानिस्तानलाई हराए के हुन्छ ?

भारतले अस्ट्रेलियालाई हराए भारत समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गर्नेछ । र बंगलादेशले जिते बंगलादेशसहित अफगानिस्तान र अस्ट्रेलियाको सम्मान २–२ अंक हुनेछ । यदि यस्तो भएको खण्डमा यो समूहबाट भारतपछि अर्को टोलीको छिनोफानो नेटरनरेटका आधारमा हुनेछ ।

Logo