आजदेखि ओलम्पिक सुरु, नेपालबाट सात खेलाडीको सहभागिता

आजदेखि ओलम्पिक सुरु, नेपालबाट सात खेलाडीको सहभागिता

केन्द्रबिन्दु
84
Shares

काठमाडौँ । आजदेखि फ्रान्सको पेरिसमा ३३ औँ ग्रीष्मकालीन ओलम्पिक प्रतियोगिता सुरु हुँदै छ । विश्व खेलकुदको महाकुम्भ मानिने ओलम्पिकको ३३ औँ संस्करण धुमधामका साथ आयोजना गर्न फ्रान्सको राजधानी पेरिसमा पूर्ण रूपमा तयारी गरिएको छ ।

दुई सयभन्दा बढी देशका खेलाडीले प्रतिस्पर्धा गर्ने यो प्रतियोगिता २७ गतेसम्म चल्नेछ । सहभागी खेलाडीले ३२ खेलमा प्रतिस्पर्धा गर्ने छन् । यस ओलम्पिकमा ४ नौला खेल ब्रेकिङ, स्पोर्ट क्लाइम्बिङ, स्केटबोर्डिङ र सर्फिङ समावेश गरिएको छ  । यीमध्ये तीन खेल टोकियो ओलम्पिकमै खेलाइएका थिए । ब्रेकिङले भने ओलम्पिकमा पदार्पण गर्नेछ ।

खेलका लागि ३० हजार स्वयंसेवक परिचालन गरिएको छ  । पेरिस ओलम्पिक एक करोड तीस लाख मानिसले प्रत्यक्ष हेर्ने अनुमान गरिएको छ  । आयोजकका अनुसार टेलिभिजनमार्फत् चार अर्ब मानिसले ओलम्पिक हेर्ने दाबी छ  । पेरिस ओलम्पिकका लागि ८० लाख टिकट बिक्री भइसकेको छ  ।

प्रतियोगितामा नेपालबाट ७ जना खेलाडीको सहभागिता रहेको छ । जसमा टेबलटेनिसकी स्यान्टु श्रेष्ठ, जुडोकी मनिता श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल, सुटिङकी सुस्मिता नेपाल, पौडीका एलेक्जेन्डर शाह र डुवाना लामा तथा एथलेटिक्सकी सन्तोषी श्रेष्ठ छन् । प्रतियोगिताको मार्चपासमा नेपालको झण्डा स्यान्टु र मनिताले संयुक्त रूपमा बोक्ने छन् । स्यान्टु क्षेत्रिय तथा मनिता महादेशीय छनोटबाट ओलम्पिकमा सहभागी भएका हुन् ।

Logo