शरणार्थी खेलाडीले पनि ओलम्पिक खेल्दै, ११ देशका ३७ खेलाडी कुन देशको झण्डामुनि खेल्दै छन् ?

शरणार्थी खेलाडीले पनि ओलम्पिक खेल्दै, ११ देशका ३७ खेलाडी कुन देशको झण्डामुनि खेल्दै छन् ?

केन्द्रबिन्दु
28
Shares

पेरिस । विश्व खेलकुदको महाकुम्भ ‘पेरिस ओलम्पिक २०२४’ शुक्रवारदेखि सुरु भएको छ । यसपटकको ओलम्पिक खेलमा शरणार्थी खेलाडी पनि सहभागी छन् । विश्वको फरक–फरक भू–भागबाट आएका अनि फरक भाषा बोल्ने उनीहरू पेरिस ओलम्पिक २०२४ मा भिड्दै छन् । युद्धग्रस्त आफ्नो देशमा सहनुपरेको उत्पीडनका कारण शरणार्थी बन्न पुगेका उनीहरू शरणार्थी ओलम्पिक टिमबाट प्रतिस्पर्धा गर्दै छन् ।

आन्तरिक युद्ध, द्वन्द्व वा प्राकृतिक विपत्तिलगायतका कारण आफ्नो नागरिकता भएको देशमा बस्न नसकी अर्को देशमा शरण खोज्दै जाने मानिसहरू बढिरहेका छन् । यो बसाइँसराइ ठूलो संख्यामा चलिरहेको छ । जुन दशौा लाखको संख्यामा छ । यसरी आफ्नो घरबार गुमाएर आएका ११ देशका ३७ खेलाडीले ओलम्पिकमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।

विश्वभर रहेको शरणार्थी समस्या उजागर गर्ने  उद्देश्यले सन् २०१६ को रियो दी जेनेरियोमा भएको ओलम्पिकका समयमा यस्तो टिम पहिलोपल्ट बनेको थियो । उनीहरू अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)को झण्डामुनि खेल्छन् । पेरिसमा यी शरणार्थी खेलाडीले १२ खेलमा सहभागिता जनाउने छन् ।

यी हुन् शरणार्थी खेलाडी

फर्नान्डो डायेन जोर्गे क्यानोइङ

क्युवाको सिनेफुगोसका फर्नान्डो डायेन जोर्गे अहिले २५ वर्षका भएका छन् । उनले क्युबाको प्रतिनिधित्व गरेर दुईपल्ट ओलम्पिक पनि खेलेका छन् । त्यो रियो दी जेनेरियो र टोकियोमा थियो । अहिले उनले बसाइँ सरेका छन् । अचेल अमेरिकाको फ्लोरिडामा बस्छन् । शरणार्थी भएका छन् । कामदारका रूपमा जीवनयापन गर्छन् । उनले टोकियोमा हजार मिटर क्यानोइङ स्प्रिन्टमा स्वर्ण पनि जितेका थिए । सन् २०२१ मा उनले आफ्नो देश छाडे । मेक्सिकोमा अभ्यास गर्नेक्रममा अमेरिका भागे ।

मनिझा तलाश

मनिझा तलाश स्पेन आएर शरणार्थी भएकी छिन् । उनी आजभोलि म्याड्रिड सहरको बाहिरी छेउतिर बस्छिन् । २१ वर्षीया खेलाडीले पहिलोपल्ट समावेश गरिएको ब्रेकिङमा आफ्नो चुनौती पेस गर्ने छिन् । यो खेललाई लोकप्रिय भाषामा ब्रेक डान्सभन्दा हुन्छ । उनी हिपहप संगीतमा आफूलाई सुन्दर ढंगमा ढाल्ने गर्छिन् । सन् २०२१ मा अफगानिस्तानी सत्तामा तालिवान फर्केपछि उनी विमानबाट स्पेन पुगेकी थिइन् । ब्रेक डान्स खेल पहिलोपल्ट यस ओलम्पिकमा समावेश गरिएको हो ।

मोहम्मद अमिन अलसलामी

सन् २०१५ को अक्टोबरमा मोहम्मद आमिन अलसलामी बर्लिन ओर्लिए । उनले गृहयुद्धमा अल्झेको आफ्नो सहर एलेपो छाडेका थिए । सिरियाबाट भाग्दै सानो ढुंगामा सबैभन्दा पहिले टर्की पुगे, त्यसपछि ग्रिस र अन्त्यमा जर्मनी पुगे । एक दशकको समयपछि उनले जर्मनीमा शरणार्थीको औपचारिक परिचय पाएका थिए । अहिले उनी २९ वर्षका भएका छन् । मज्जाले जर्मन भाषा बोल्न सक्छन् । एक महिनाअगाडि मात्र उनलाई पेरिस ओलम्पिक खेल्ने अवसरको समाचार आइपुगेको थियो । उनले एथलेटिक्समा प्रतिस्पर्धा गर्ने छन् । सिरियामै रहेका वेला उनले केही प्रतियोगितामा खेले, पदक पनि जिते । देशमा गृहयुद्ध भएपछि खेलकुद हुनै छाड्यो । सिरियाभित्रै शरणार्थीको स्थितिमा रहेका उनी आफ्नो देश छाड्न बाध्य भए ।

इमान महादभी

इमान महादभी एक इरानी कुस्तीवाज हुन् । उनले ज्यानकै डर भएपछि आफ्नो देश छाडे । आफूले लगाएको एकजोर लुगाकै भरमा उनी सुरुमा टर्की पुगे र त्यसपछि इटाली । अहिले उनी २९ वर्षका भए । शरणार्थीको दर्जा पाएपछि उनले गरेको पहिलो काम भनेकै फेरि कुस्ती खेल्न थाल्नु थियो । उनका बुवा पनि एक समय कुस्तीवाज नै थिए । इरानमा रहेकै वेला उनी सातपल्ट जुनियरस्तरमा च्याम्पियन भए, ५० भन्दा बढी पदक जिते ।

Logo