क्यानडासँग नेपालको लज्जास्पद हार, १०३ रनले पराजित

क्यानडासँग नेपालको लज्जास्पद हार, १०३ रनले पराजित

केन्द्रबिन्दु
1.1k
Shares

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ क्रिकेटमा नेपालले क्यानडासँग लज्जास्पद हार बेहोरेको छ । नेपाल क्यानडासँग १०३ रनले पराजित भएको हो । एक दिवसीय क्रिकेटमा नेपाल क्यानाडासँग पहिलो पटक पराजित भएको हो । किंग सिटी मैदानमा घरेलु टोली क्यनडाले टस हारेर पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ८ विकेट गुमाएर २५३ रन बनाएको थियो ।

सुरुआत राम्रो नगरे पनि क्यानडाले मिडिल अर्डरमा सम्हालिएको प्रदर्शन गरेको थियो । क्यानडाका कप्तान निकोलश किर्तनले ४४ बलमा ७३ रनको आक्रामक पारि खेलेका थिए । नटआउट रहेका उनले ६ छक्का र ३ चौका प्रहार गरे । यसैगरी नभनित धालिवालले ४८ रन बनाउँदा डेलिन हेलिगेरले ३० रन जोडे । यसैगरी हर्ष ठाकरले २७ रन बनाएका थिए ।

नेपालका सोमपाल कामी र ललित राजवंशीले दुई–दुई विकेट लिए । यसैगरी सन्दीप लामिछाने, गुलसन झा र रोहित पौडेलले एक–एक विकेट लिए । २५४ रनको लक्ष्यसहित मैदान उत्रिएको नेपाली टिमको ब्याटिङ अर्डर ध्वस्त हुँदा ४०.१ ओभरमा सबै विकेट गुमाएर १५० रनमा समेटियो । नेपालका करण केसीले सर्वाधिक २७ रन बनाउँदा सन्दीप लामिछानेले २२ रन बनाए । यसैगरी आशिफ शेखले २० रन जोडदा भीम सार्कीले १८ रनको योगदान गरे । गुलसन झाले १५ रन बनाउँदा कुशल मल्लको ब्याटबाट १२ रन बन्यो ।

ओपनर कुशल भुर्तेल १ रनमा आउट हुँदा कप्तान रोहित पौडेलले ५ रन जोडे । यसैगरी दीपेन्द्रसिंह ऐरीले ८ तथा सोमपाल कामीले ६ रन बनाउँदा ललित राजवंशी २३ बल खेल्दै खाता नखोली नटआउट रहे । डेलिन हेलिगरले १० ओभरमा ३१ रन खर्चिएर ५ विकेट लिए । यस्तै, अखिलकुमार र अन्स पटेलले दुई–दुई विकेट लिँदा साद बिन जाफरले एक विकेट लिए ।

विश्वकप छनोटमा नेपालसहित ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । जितपछि क्यानडा अहिले ९ खेल खेल्दा ५ मा जित र ४ खेलमा हारसहित १० अंक बनाएर दोस्रो स्थानमा उक्लिएको छ । यता नेपाल भने ५ खेल खल्दा ४ मा हार र १ मा जितका साथ २ अंक बनाएर तालिकाको पुछारबाट दोस्रो स्थानमा छ ।

Logo