अमेरिकासँग युएई १० विकेटले पराजित

अमेरिकासँग युएई १० विकेटले पराजित

केन्द्रबिन्दु
560
Shares

काठमाडौं । आईसिसी विश्वकप लिग टुमा युएईले लगातार चौथो हार व्यहोरेको छ ।

नामिबियामा जारी लिग टु अन्तर्गतको सिरिजमा बुधबार युएई अमेरिकासॅंग १० विकेटले स्तब्ध भएको हो । युएईले दिएको १ सय ६ रनको सामान्य लक्ष्य अमेरिकाले १५.५ ओभरमा विनाविकेटको क्षतिमा पूरा गर्यो ।

अमेरिकाको जितमा ओपनर आन्द्रेस गौसले ५४ बलमा १२ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ६६ रन जोडे भने अर्का ओपनर स्मित पटेलले ३८ रन जोडे ।

त्यसअघि टस हारेर ब्याटिङको निम्ता पाएको युएईले ३१.१ ओभरमा अल आउट हुँदै १०६ रन मात्र जोड्न सकेको थियो । युएईका लागि राहुल चोपराले सर्वाधिक ३२ रन जोडे भने आर्याशं शर्माले ३१ रन जोडे । अलि नासिरले २३ रन बनाउँदा अन्य ब्याटर सस्तैमा समेटिए ।

अमेरिकाका लागि जसदिप सिंहले ४ विकेट लिए भने सौरभ नेत्राभाल्कर, मिलान्ड कुमार र नुस्तुश केन्जिगेले समान २ विकेट लिए । जितसॅंगै ८ टोली सहभागी लिगमा अमेरिका ८ अंक सहित तालिकाको चौथो स्थानमा उक्लिएको छ । युएई ४ खेलमा अंक बिहिन रहँदै तालिकाको पुछारमा छ ।

Logo