गण्डकी हिरोज बनेर एनपीएल खेल्ने मौका

गण्डकी हिरोज बनेर एनपीएल खेल्ने मौका

केन्द्रबिन्दु
56
Shares

पोखरा । नेपाल प्रिमियर लिगको फ्रेन्चाईज टिम पोखरा एभेन्जर्सले गण्डकी हिरोजका लागि खुल्ला दर्खास्त आह्वान गरेको छ । गण्डकी प्रदेशबाट ट्यालेन्ट हन्टको रुपमा खुल्ला गरिएको छनोटबाट पोखरा एभेन्जर्सले गण्डकी हिरोज टिमका लागि खेलाडी छनोट गर्ने बताएको छ ।

स्थानीय क्रिकेट र युवा खेलाडीको विकासका लागि पोखरा एभेन्जर्सले गण्डकी हिरोजको अवधारणा अघि सारेको छ । पोखरा एभेन्जर्स अन्तर्गत रहने गण्डकी हिरोजले स्थानीयसँगै प्रदेश स्तरबाट विभिन्न प्रतियोगितामा वर्षभरीनै प्रशिक्षण र प्रतिस्पर्धामा सहभागी हुनेछ ।

फ्रेन्चाईज क्रिकेटमार्फत घरेलु क्रिकेट विकासमा ठोस योगदान गर्ने उद्धेश्यले गण्डकी हिरोजको अवधारणामा काम गरिएको पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले बताए । ‘गण्डकीको प्रतिनिधित्व गर्दै गण्डकी हिरोज घरेलु क्रिकेटमा वर्षभरीनै क्रियाशिल रहन्छ । स्थानीय खेलाडीमा योगदान गर्न सकियोस् भनेर ग्रासरुट विकासको यो अवधारणामा काम गरेका हौं ।’ उनले भने ।

खुल्ला छनोटबाट गण्डकी हिरोजमा उत्कृष्ट ५ खेलाडी छानिनेछन् । छनोट भएका खेलाडीलाई पोखरा एभेन्जर्सको बन्द प्रशिक्षणमा समावेश गर्नेछ । छनोटबाट आएका उत्कृष्ट ५ मध्य एक जनाले आईकोनिक खेलाडीको रुपमा गण्डकी प्रदेशको प्रतिनिधित्व गरिरहेको पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने अवसर प्राप्त गर्नेछन् ।

गण्डकी प्रदेशमा हुने ट्यालेन्ट हन्टबाट आउने एक आईकोनिक खेलाडीलाई क्लबले सम्झौता सहित एनपीएलको टिममा राख्ने एभेन्जर्सका प्रबन्ध निर्देशक मनोबल श्रेष्ले बताए । ‘छनोटबाट आएका अन्य खेलाडीले पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षक अन्तर्गत रहेर प्रशिक्षण र सिक्ने अवसर प्राप्त गर्नेछन् । यसबाट स्थानीय खेलाडीको समेत स्तर वृद्धि हुनेछ ।’ उनले भने ।

पोखरा एभेन्जर्सले मार्की खेलाडीको रुपमा कुशल भुर्तेल र मुख्य प्रशिक्षकमा पूर्वभारतीय क्रिकेटर तथा प्रशिक्षक राजीव कुमारलाई अनुबन्ध गरिसकेको छ । पहिलो विदेशी खेलाडीको रुपमा यूएसका विकेटकिपर ब्याट्सम्यान एन्ड्रिज गुसलाई एभेन्जर्सले भित्र्याईसकेको छ ।

Logo