नेपालसँग अमेरिका आठ विकेटले पराजित, टी–२० आई सिरिजमा नेपालको क्लिन स्वीप

नेपालसँग अमेरिका आठ विकेटले पराजित, टी–२० आई सिरिजमा नेपालको क्लिन स्वीप

केन्द्रबिन्दु
364
Shares

काठमाडौँ । नेपाल र संयुक्त राज्य अमेरिकाबीचको टी२० शृङ्खलाअन्तर्गत अन्तिम खेलमा पनि नेपाल विजयी भएको छ । नेपालले घरेलु टोली अमेरिकाविरुद्धको टी–२० आई सिरिजमा क्लिन स्वीप गरेको हो ।

सोमबार बिहान भएको खेलमा नेपालले अमेरिकामाथि आठ विकेटको जित हासिल गरेको हो । अमेरिकाले दिएको १५७ रनको लक्ष्य नेपालले १८.४ ओभरमा दुई विकेट गुमाउँदै पूरा गरेको थियो ।

आजको खेलमा टस हारेर पहिले बलिङ गरेको नेपालले जितका लागि १५७ रनको लक्ष्य पाएको थियो । नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए । अमेरिकाविरुद्धको खेलमा कामी प्लेयर अफ द सिरिज बनेका छन् ।

सोमपालले सिरिजका तीन खेलमा ५ विकेट लिएका थिए । पहिलो खेलमा कुनै विकेट लिन नसकेका सोमपालले दोस्रो खेलमा २ तथा तेस्रो खेलमा ३ विकेट लिएका थिए । दोस्रो खेलमा भएको सुपर ओभरमा सोमपालले २ रन खर्चिएर २ विकेट लिएका थिए । यस्तै आजको खेलमा रिजन ढकाल र ललित राजवंशीले १–१ विकेट लिएका छन् ।

अन्तिम खेलमा नेपालका ओपनर आशिफ शेखले अमेरिकाविरुद्ध अर्धशतक बनाए । ३९ बलको सामना गरेका उनले ५ चौका र दुई छक्काको मद्दतमा ५० रन बनाएका हुन् । कुशल मल्ल र कुशल भुर्तेलको महत्त्वपूर्ण साझेदारीमा अमेरिकाविरुद्ध नेपालले अन्तिम खेलमा शानदार जित निकालेको हो ।

टस जितेर सुरुमा ब्याटिङ गरेको अमेरिकाले ५ विकेट गुमाएर नेपालविरुद्ध १५६ रन बनाएको थियो । पहिलो खेल १७ रनले विजयी भएको नेपालले दोस्रो खेलमा सुपर ओभरमा जित हात पारेको हो ।

नेपालविरुद्ध आक्रमक ब्याटिङ गरेका अमेरिकाका साइतेजा मुक्कामल्लाले अर्धशतक बनाएका थिए । उनले ५१ बलको सामना गर्दै पाँच चौका र दुई छक्काको मद्दतमा ६८ रन बनाए । अर्का ब्याट्सम्यान मिलिन्द कुमारले नटआउट ४३ रन जोडेका थिए । ३५ बलको सामना गरेका उनले चार चौका हिर्काएका थिए ।

Logo