कर्णाली प्रदेशका तीन खेलाडी कर्णाली याक्समा अनुबन्धित

कर्णाली प्रदेशका तीन खेलाडी कर्णाली याक्समा अनुबन्धित

केन्द्रबिन्दु
154
Shares

काठमाडौँ । हिमालयन विल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले अक्सनबाट कर्णाली प्रदेशका तीन खेलाडी टोलीमा समावेश गरेको छ ।

आइतबार काठमाडौँमा भएको नेपाल प्रिमियर लिग (एनपिएल) को अक्सनबाट कर्णाली याक्सले १० खेलाडी खरिद गर्दा कर्णाली प्रदेशको प्रतिनिधित्व गर्दै घरेलु क्रिकेट खेलिसकेका तीन खेलाडी टोलीमा समावेश गरेको हो ।

अर्जुन घर्ती, युनिशविक्रम सिंह ठकुरी र दीपेन्द्र रावत कर्णालीका हुन् । अर्जुन ‘बी’ श्रेणीका हुन् भने युनिश र दीपेन्द्र ‘सी’ श्रेणीका हुन् ।

कर्णाली याक्समा निर्देशक सह–मालिक गृहेन्द्र घिमिरेले योजनाअनुसार नै कर्णालीका खेलाडी टोलीमा समावेश गरेको बताएका छन् । ‘कर्णाली याक्सले कर्णाली प्रदेशको प्रतिनिधित्व गर्दा स्थानीय खेलाडीलाई प्राथमिकतामा राख्नुपर्छ भन्ने थियो,’ सहमालिक घिमिरेले भने, ‘हाम्रो योजनाअनुसार नै तीन खेलाडी समावेश गरेका छौँ ।’

निर्देशक गृहेन्द्र घिमिरेले केही खेलाडी छुट्न गएको स्मरण गर्दै उनीहरूलाई टोलीमा समावेश गर्ने तयारी भएको बताएका छन् । ‘हामीसँग अझै पनि एक स्थानीय खेलाडी ल्याउने बाटो खुल्ला छ । छुटेकालाई त्यसबाट समावेश गर्छौँ ।’

ज्ञानेन्द्र मल्ल प्रशिक्षक रहेको कर्णाली याक्सको मार्की खेलाडीमा राष्ट्रिय टिमका अलराउन्डर सोमपाल कामी छन् । टोलीले ए श्रेणीबाट गुल्शन झा, देव खनाल र नन्दन यावदलाई टोलीमा समावेश गरेको छ । त्यस्तै, ‘बी’ श्रेणीमा अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन् । ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिशविक्रम सिंह ठकुरीसँगै दीपक डुम्रे छन् ।

कर्णाली याक्सले दश खेलाडी खरिद गर्दा ७४ लाख खर्च गरेको छ । यसअघि हिमालयन विल्डर्स एन्ड इन्जिनियर्स एक करोड ११ लाखमा कर्णाली याक्स स्वामित्वमा लिएको थियो । निर्देशक गृहेन्द्र घिमिरेले चार विदेशी कोटामा विश्व चर्चित खेलाडी समावेश गर्दै टोली बलियो बनाउने जानकारी गराएका छन् ।

‘अक्सनबाट अनुबन्ध भएका नेपाली खेलाडी निकै राम्रा देखिन्छन् । अब, विश्वचर्चित विदेशी खेलाडी अनुबन्ध गर्दै टोली थप बलियो बनाउँछौँ र उपाधि जित्न खेल्नेछौँ ।’ एनपिएल १५ मंसिरदेखि ६ पुससम्म काठमाडौँमा हुँदै छ ।

Logo